बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज आइतबार मुम्बई विमानस्थलबाट पक्राउ परेकी छन् ।
प्रवर्तन निर्देशनालयले सुकेश चन्द्रशेखर, उनकी पत्नी लीना मारिया पल र अन्य ६ जनाविरुद्ध दुई सय करोड रुपैयाँको मनी लान्ड्रिङ मुद्दामा सात हजार पृष्ठको आरोपपत्र दायर गरेको थियो उक्त कार्यमा सुकेश र ज्याकलिनबीच आर्थिक लेनदेनको प्रमाण फेला परेपछि अभिनेत्रीलाई हाल मुम्बई प्रहरीले हिरासतमा लिएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार हाल सोधपुछक्रममा उनी कोही सुकेश नाम गरेको व्यक्तिलाई नचिन्ने दाबी गरिरहेकी छन्, तर ज्याकलिन र सुकेशसँगै भएको केही फोटोहरु भाइरल भइरहेको छ ।
बलिउड हंगामाका अनुसार उनको नजिकको साथीको रुपमा चिनिने अभिनेता सलमान खानले कुनै प्रतिकृया दिएका छैनन् । उनलाई सहयोग गर्न कोहीपनि अगाडि आएका छैनन् ।
ज्याकलिनको नाम मनी लान्ड्रिङ मुद्दामा मुछिएसँगै सलमान उल्टै उनलाई आफ्नो आउँदो नयाँ टुर कन्सर्ट ‘दबंग’बाट निकाल्ने सुरसार गरिरहेका रिपोर्ट बाहिरिएको छ ।
पहिले सो कन्सर्टमा ज्याकलिनले अन्य बलिउड कलाकारसँग प्रदर्शन गर्ने योजना थियो । अब भने उनको ठाँउमा अर्की अभिनेत्रीलाई ल्याउने हल्ला चलेको समाचार छ ।
ज्याकलिनमाथि अनुसन्धान चलिरहेकाले उनलाई भारत छाडेर जानपनि रोक लगाइएको छ । स्रोतका अनुसार उनी गम्भीर मुद्दामा फसेको र प्रवर्तन निर्देशनालयले उनलाई पटकपटक सोधपुछका लागि बोलाइरहने बताएका छन् ।
प्रहरीका अनुसार सुकेशले ठगी गरेको रकमबाट ज्याकलिनलाई दश करोड भारुभन्दा बढीको महँगो उपहार, एउटाको ९ लाख भारु पर्ने चारवटा पर्सियन बिरालो र ५२ लाख भारु पर्ने घोडा उपहार दिएका थिए ।