कुवेत, २८ अक्टोबर २०२६ - पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी २० नोभेम्बर २०२६, शुक्रबार कुवेतको फाहाहिलस्थित शुकसवा फुटबल मैदानमा बिहानको ठिक ८:३० बजेदेखि सञ्चालन हुने भएको छ।
आगामी १३ नोभेम्बर २०२६, शुक्रबार बिहान ११:०० बजे, महाबुल्लाको फुटबल मैदानमा टिम दर्ता तथा टाइसिट सार्वजनिक गरिने बताउँदै क्लवका अध्यक्ष जिवन केरुङ लिम्बुले कुवेतस्थित सम्पूर्ण नेपाली फुटबल टिमहरूलाई समयमै उपस्थित भई टिम दर्ता गराउन आग्रह गर्नु भएको छ।
आयोजकका अनुसार प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल, प्रमाण-पत्रसहित ४०० कुवेती दिनार नगद प्रदान गरिनेछ भने उपविजेता टिमलाई शिल्ड, मेडल, प्रमाण-पत्रसहित २०० कुवेती दिनार नगद पुरस्कार प्रदान गरिने छ।
यसैगरी, प्रत्येक टिममा १८ जना खेलाडी तथा टिम म्यानेजर र टिम कोचसहित कुल २० जनाको समुहमा टिम हुनुपर्ने आयोजकले जनाएको छ। खेलसम्बन्धी थप नियमावली तथा अन्य विधातर्फका पुरस्कारहरू बारे जानकारी टिम दर्ताकै दिन सार्वजनिक गरिनेछ।
लामो समयदेखी कुवेतको नेपाली समाजमा फुटबलका ठुला टुर्नामेण्टहरू आयोजना हुन नसकी रहेको अवस्थामा पुर्वेली टाईगर फुटबल क्लबले “गोल्ड कप” आयोजना गर्ने निर्णय गरेकोमा सम्पूर्ण खेलाडी तथा खेलप्रेमी नेपालीहरु उत्साहित बनेका छन भने विजेता पुरस्कार ४०० केडी र उपविजेता पुरस्कार २०० केडी कुवेतको नेपाली फुटबलमा अहिलेसम्मकै उच्च पुरस्कार राशिमध्ये एक मानिएको छ।
टुर्नामेन्टको उद्घाटन तथा समापन कार्यक्रममा कुवेतस्थित नेपाली संघ–संस्था, समाजसेवी, बुद्धिजीवी, भद्रभलाद्मी, पत्रकार, कलाकार तथा सम्पूर्ण खेलप्रेमी दर्शकहरूलाई उपस्थितिका लागि आयोजकले अनुरोध गरेको छ। साथै, सो दिन अन्य कार्यक्रमहरू आयोजना नगरी सहयोग गरिदिन समेत आग्रह गर्दै कार्यक्रमका लागि सम्बन्धित पक्षहरूलाई औपचारिक निमन्त्रणा समेत पठाइने आयोजकले जनाएको छ।
टुर्नामेण्ट सम्बन्धी थप जानकारीको लागि संपर्क:
जिबन केरुङ लिम्बु – ६९०६०८८७
केशव भण्डारी – ६६७२९९५८
ईश्वर श्रेष्ठ – ६५११८५१८