चैतको सुरुवातसँगै काठमाडौँ उपत्यकामा ढकमक्क फुलेको गुलाबी चेरीले वसन्त ऋतुलाई स्वागत गरिरहेको भान हुन्छ । विभिन्न स्थानमा लगाइएको चेरी फूलले राजधानी काठमाडौँको सौन्दर्य थपेको छ ।

आई कैल्यै पनि नसकिने चैत वैशाख मेरा,
लाई कैल्यै पनि नसकिने प्रिती नै लाख मेरा ।

राष्ट्रकवि माधवप्रसाद धिमिरेले ‘वैशाख’ कवितामा भनेझैँ फेरि चैत आएको छ, अर्थत् वसन्तको आगमन भएको छ ।
बोटबिरुवामा पालुवा पलाउन थालेको छ । फूल फुल्न थालेका छन् । चेरी फुल्नु वसन्त आगमनको संकेत हो ।
भृकुटीमण्डपमा फुलेको भने गुलाबी चेरी हो । त्यहाँ पुग्ने बटुवाहरु चेरीसँग रमाइरहेका देखिन्छन् ।
कोही फूलको दृश्यावलोकनमा मग्न हुन्छन् भने कोही फोटो र सेल्फीमा रमाइरहेका हुन्छन् ।