नेपाल-कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औ वार्षिकोत्सवको सन्दर्भमा नेपाली राजदूतावास, कुवेतले रक्तदान कार्यक्रम (Blood Donation Drive) सम्पन्न गरेको छ ।
कुवेतको सेन्ट्रल ब्लड बैंक, जाब्रियामा २५ मार्चका दिन कुवेतमा कार्यरत नेपाली समुदायको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा नेपाली संघ -सस्थाका प्रतिनिधि, पत्रकार लगायत नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो ।
कुवेतको लागि नेपाली राजदूत महामहिम दुर्गा प्रसाद भण्डारी तथा कुवेत सरकार स्वास्थ्य र परराष्ट्र मन्त्रालयका सहभागि अतिथिहरूले संयुक्त रूपमा रिवन काटी कार्यक्रमको समुद्घाटन गरेका थिए ।
अतिथिहरूको स्वागत पश्चात आयोजित उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै महामहिम राजदूत भण्डारीले सन् १९७२ मा नेपाल र कुवेत राज्य बीच कूटनीतिक सम्बन्ध स्थापना भए पश्चात दुई देशबीच आपसी मित्रता र सहयोगका क्षेत्रमा भएको विकास, सुमधुर मैत्रीपूर्ण सम्बन्धलाई थप अभिवृद्धि गर्न दुवै पक्षबाट हुँदै आएका कामकारबाहिहरूबारे उल्लेख गर्दै यहाँ रहेका नेपालीहरूले जनस्तरसम्म आपसी सम्बन्ध विस्तार गर्न पुर्याएको सहयोगको सराहना गरेका थिए ।
दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वर्ष प्रवेशका अवसरमा आयोजित रक्तदान कार्यक्रममा स्वतस्फूर्त रूपमा सहभागी भई मानवीय सेवाको यो पवित्र कार्यमा सहयोग पुर्याएकोमा कुवेतमा कार्यरत रहेका नेपाली समूदाय र रक्तदानका लागि आवश्यक वातावरण जुटाउनुका साथै कार्यक्रममा सक्रिय सहभागिता जनाएकोमा कुवेत सरकार परराष्ट्र मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरू, सेन्ट्रल ब्लड बैंकका निर्देशक, डाक्टर तथा नर्सहरू लगायत सम्बद्ध सम्पूर्ण पदाधिकारी एवं कर्मचारीहरू प्रति आभार प्रकट गरेका थिए ।
नेपाली दूतावास कुवेतले सन् २०२२ मा नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वर्षको सन्दर्भमा विभिन्न कार्यक्रमहरू संचालन गर्दै आएको छ ।