वैदेशिक रोजगारीको सिलसिलामा कुवेत आएका चार जना नेपाली श्रमिकको जुलाई महिनामा निधन भएको छ ।
रोजगारीको शिलशिलामा कुवेत आएर बिभिन्न क्षेत्रमा कार्यरत ३ जना पुरुष र १ जना महिलाको मृत्यु भएको नेपाली दुतावास कुवेतले जनाएको छ । यसरी मृत्यु हुनेमा गत जुलाई ११ मा रुपन्देहीका बिशाल कुवर, जुलाई १९ मा मोरङ्गका नर बहादुर बिस्ट, जुलाई २४ मा सोलुखुम्बुकी सेङ्ग्री ल्हमु शेर्पा र जुलाई २५ मा नवलपरासीका उमाशंकर चौधरी थारु रहेका छन ।
बिस्ट र कुँवरको हृदयघातका कारण, चौधरीको ब्रेंनह्याम्रेजका कारण मृत्यु भएको हो भने शेर्पाले झुण्डिएर आत्महत्या गरेको नेपाली दुताबास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालले जानकारी दिनु भएको छ ।
आत्महत्या गरेकी शेर्पा कुवेत आएको लगभग डेढ महिना मात्रै भएको थियो । उनले आत्महत्या गर्नु अघि सामाजिक संजाल टिकटकमा रुदै आफुलाई कुवेत पठाउने एजेन्टले समस्यामा पारेको भन्दै आफ्ना पिडा सार्वजनिक गरेको भिडियो क्लिप सार्वजनिक भएको थियो । उनको आत्महत्या पश्चात् सबैलाई गम्भीर बनाएको छ ।
जुन नेपालका राष्ट्रिय मिडियाहरुले समेत रिपोर्ट नै प्रसारण गरेका छन । शेर्पा एक उदाहरण मात्रै हो बैदेशिक रोजगारीमा आउने धेरै नेपाली चेलीहरुले पनि यस्तै समस्या झेलिरहेका छन भने ज्यान पनि गुमाई रहेका छन । तसर्थ सम्बन्धित निकायको बेलैमा ध्यान पुग्न जरुरी छ ।
हरेक वर्षको आकडा हेर्ने हो भने कुवेतमा आत्महत्या गर्ने, हृदयघातका कारण र सडक दुर्घटना परि ज्यान गुमाउने नेपालीहरुको संख्या अत्याधिक रहेको छ ।