Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोनाको ९० मिनेटमा परीक्षण गर्ने यो हो सामान्य विधि

कोरोनाको ९० मिनेटमा परीक्षण गर्ने यो हो सामान्य विधि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २, २०७७ शुक्रवार • १३:४६:४९ बजे
  • 1.2K
    SHARES
  • कोरोनाको  ९० मिनेटमा परीक्षण गर्ने यो हो सामान्य विधि
    एजेन्सी । वैज्ञानिकहरुले प्रयोगशालामा स्वाब नलगी ९० मिनेटमा कोरोना भाइरसको संक्रमण परीक्षण गर्न सकिने दावी गरेका छन् । इम्पेरिअल कलेज लण्डनले गरेको अध्ययनमा 'ल्याब अन अ चिप'ले अहिले प्रचलनमा भएको परीक्षण जस्तै परिणाम दिन सक्ने जनाएको छ ।
    यो विधि बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसद्वारा सञ्चालित आठवटा अस्पतालका बिरामीहरूमा कोरोना भाइरस छ कि छैन भनेर चाँडै छुट्याउन प्रयोग भइरहेको बिबिसीले जनाएको छ । तर विज्ञहरूले यूकेको 'टेस्ट एन्ड ट्रेस' कार्यक्रममा विद्यमान चुनौतीलाई उक्त किटले समाधान नगर्ने औँल्याएका छन्। यो उपकरण डिएनए नज नामक कम्पनीले बनाएको हो। घाँटी वा नाकमा स्वाब हालेर नमुना सङ्कलन गर्न सक्ने जोसुकैले पनि यो उपकरण प्रयोग गर्न सक्छ। सस्तो मूल्यमा बजारमा पाइने भएकाले यसको प्रयोग अब घरघरमा हुनसक्ने अनुमान गरिएको छ ।
    परीक्षणका लागि आवश्यक रासायनिक पदार्थ भएको एउटा नीलो काट्रिजमा स्वाब हुन्छ। परीक्षणपछि विसर्जन गर्नुपर्ने काट्रिज एउटा जुत्ता राख्ने बाकसजत्रो यन्त्रमा राखिएको हुन्छ। त्यसैले नमुनाको परीक्षण गर्छ। लान्सिट माइक्रोब नामक वैज्ञानिक जर्नलमा यसबारे गरिएको शोध प्रकाशित भएको छ। उक्त अध्ययनमा ३८६ व्यक्तिबाट सङ्कलित नमुनाहरू डिएनए नज र प्रचलित विधिबाट परीक्षण गरिएको थियो। 'नतिजा उस्तै रह्यो। नयाँ प्रविधि ल्याउन खोज्दा यो धेरै उत्साहप्रद छ,' इम्पीरीअल कलेज लन्डनका प्राध्यापक ग्रेअम कुकले भने, 'धेरै परीक्षणमा गति र परिशुद्धिबीच सम्झौता हुन्छ। तर यो परीक्षणले दुवैलाई कायम गर्छ।'
    प्रयोगशालामा गरिने परीक्षणले कोरोना भाइरसमुक्त देखाएको बिरामीलाई यो द्रुत परीक्षणले पनि भाइरस नभएको देखायो। प्रयोगशालाले कोरोना भाइरस भएको देखाएका ९४५ परिणाममा यो विधिले उस्तै नतिजा देखायो। बेलायतले ५,००० वटा यस्ता नजबक्स उपकरण र ५८ लाख काट्रिज मगाइसकेको छ। यो परीक्षणको एउटा ठूलो दुर्गुण पनि छ। यसले एक चोटिमा एउटा मात्र नमुना जाँच्न सक्छ। अर्थात् एक दिनमा एउटा उपकरणले जम्मा १६ वटा मात्र नमुना जाँच्न सक्छ।
    तर प्राध्यापक कुकका अनुसार तत्काल कुनै चिकित्सकीय निर्णय गर्नुपर्ने स्थानमा यो उपकरण उपयुक्त हुन्छ। उनले गत हप्ता यो विधिबाट कोभिड-१९ भएको पत्ता लागेका एक बिरामीलाई तत्काल रेम्डिसिभिर र डेक्सामेथासोनजस्ता औषधि दिइएको थियो। यो परीक्षण विधि अस्पतालहरूमा भविष्यमा अझ उपयोग हुनसक्छ किनभने यसबाट कोरोना भाइरस, रुघा र बालबालिकामा श्वासप्रश्वासम्बन्धी समस्या उत्पन्न गराउने सिन्सिशीअम भाइरसको परीक्षण एकैचोटि गर्न सकिन्छ। तर यो उपकरणले धेरै नमुना एकैचोटि जाँच्न नसक्ने भएकाले एक दिनमा एक करोड व्यक्तिको परीक्षण गर्ने योजनामा यो उपयोग नबन्न सक्छ। यो अध्ययनमा कुनै संलग्नता नभएका यूनिभर्सिटी अफ वोरिकका प्राध्यापक लरेन्स यङले यो विधिको प्रशंसा गरेका छन्। बिबिसीबाट साभार

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology