मयूरपाटी - रुपन्देहीमा कार दुर्घटनामा परी एक पत्रकारको मृत्यु भएको छ । तिलोत्तमा–६ मा बस्दै आएका पत्रकार कृष्णबाबु पाण्डे आफैंले चलाएको बा ७ च ६९५९ नम्बरको कार दुर्घटना हुँदा मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय मंगलापुरका प्रहरी निरीक्षक लक्ष्मण थापाका अनुसार बुटवलबाट घर जाँदै गर्दा बुटवल–भैरहवा सडक खण्डको ड्राइभरटोलमा गएराति पौने १२ बजेतिर सडकको डिभाइडर र रेलिङमा ठोक्किएर कार दुर्घटना हुँदा पाण्डेको मृत्यु भएको हो ।
पत्रकारको दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । उनलाई बुटवलको चौराहा हस्पिटल प्रालिमा उपचारका लागि ल्याइए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । पत्रकारको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ ।
कारमा उनी एक्लै सवार रहेको प्रहरीले जनाएको छ । कार तीव्र गतिमा भएका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।