Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दलितमाथि विभेद गरिएको भन्दै प्रदर्शन

दलितमाथि विभेद गरिएको भन्दै प्रदर्शन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २९, २०७९ सोमवार • १८:१९:२३ बजे
  • 706
    SHARES
  • दलितमाथि विभेद गरिएको भन्दै प्रदर्शन

    वीरगञ्जको अलौमा गर्न लागिएको शतचण्डी महायज्ञमा दलित समुदायलाई विभेद गरेको भन्दै प्रदर्शन भएको छ ।

    images

    वीरगञ्ज महानगरपालिका–१७ अलौमा ८ देखि १७ चैतसम्म हुने महायज्ञको तयारीका क्रममा दलित समुदायलाई विभेद गरिएको भन्दै दलित समुदायले जिल्ला प्रशासन कार्यालय बाहिर प्रदर्शन गरेका हुन्। पूजा समितिले दलित समुदायलाई पूजामा सहभागी हुन नदिने भनेर छुवाछुतको विभेद गरेको उनीहरुको भनाइ छ ।

    प्रदर्शनमा सहभागीले दलितले मन्दिरमा जान मिल्दैन ?, दलित समुदायमाथि अत्याचार, दलितले मन्दिरमा पूजा गर्न किन मिल्दैन ? भेदभाव गर्न पाईदैन लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए।

    प्रदर्शनमा सहभागी खुबलाल महराले पूजामा बस्न नदिने भनेपछि विरोधमा उत्रिएको बताए । ‘अलौमा यज्ञ हुँदैछ, हाम्रो पनि श्रद्धा छ । यज्ञमा हामी पनि बस्छौं भनेर पूजा समितिलाई भनिरहेका थियौं’, उनले भने ‘सबै काम गर्नु तर चौका –पूजा गर्ने ठाउँ) मा नबस्नु भन्छन्, चौकामा बस्न पाईदैन भने अरु काम किन गर्ने ?’

    गाउँमा समस्या समाधान नहुने देखेपछि जिल्ला प्रशासन कार्यालय पर्सामा न्याय माग्न आएको उनले बताए । पूजाका लागि रमेश चौधरीको संयोजकत्वमा ३५ सदस्यीय समिति बनाइएको छ । समितिमा सुरुमा दलित समुदायको समेत नाम राखिएकोमा पछि हटाइएको उनीहरुको आरोप छ ।

    अलौंका कृष्णा रामले दलितलाई महायज्ञमा बस्न नदिनु कानुन विपरीत भएको बताए । ‘कानुनले जातीय छुवाछुत निषेध गरेको छ, छुवाछुतको भेदभाव हुने नै पूजापाठमा हो, तर यो हटेको छैन’ उनले भने, ‘हामीले पनि यज्ञमा गैरदलितले जसरी नै बस्न पाउनुपर्छ । भनेका छौं, हाम्रो हक मिल्दैन भने कानुनी प्रक्रियामा जान्छौं ।’

    पूजा समितिका सदस्य एवं मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद चौधरीले पनि विभेद गरेको स्वीकारेका छन् । उनले यज्ञलाई परम्परागत रुपमै सञ्चालन गर्न खोजिएको प्रतिक्रिया दिए ।

    ‘२२ वर्षपछि गाउँ समाज जुटेर पूजाको आयोजना गरेका छौं, समितिमा दलित, मुस्लिम सबैलाई राखेका छौं, ध्वजा रोपणमा सबै सहभागी भएका थियौं’, उनले भने, ‘बसेर विधिको पूजा गर्न चलन छैन भनेर गाउँ समाजले मानिरहेका छैनन् । गाउँ समाजले मान्छ भने समितिलाई कुनै आपत्ति छैन ।’

    प्रदर्शनपछि दलित अगुवाहरुले यज्ञमा सहभागी हुन नदिने भनेर विभेद गरेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएका छन् ।

    सम्पूर्ण गाउँलेको सहयोगमा चैत ८ गतेदेखि गाउँमा आयोजना गर्न लागिएको सप्तचण्डी महायज्ञमा दलित समुदायलाई विभेद गरी यज्ञमा सहभागी नगर्ने भनी छुवाछुतको भेदभाव गरेको उल्लेख गरिएको छ । उनीहरुले पूजा समितिमा रहेकाहरुविरुद्ध उजुरी दिएका हुन् ।

    विपक्षीलाई झिकाएर छुवाछुत भेदभाव गरे वापत नियमानुसार कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले दलित समुदायको निवदेन आएको पुष्टी गरे । उनले घटना के भएको हो भनेर बुझ्न पूजा समितिका मानिसहरुलाई मंगलबार प्रशासन कार्यालयमा बोलाइएको बताए ।

    सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले २१ फागुनमा दलित समुदायलाई छुट्टै राखेर भोज खुवाएको घटनाको विरोधमा सोमबार वीरगञ्जमा प्रदर्शन भएको छ । पिस फर दलित फाउन्डेशन नेपालको अगुवाइमा भएको विरोध जुलुसले वीरगञ्ज नगरको परिरक्रमा गरेको थियो ।

    उनीहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर ज्ञापन–पत्र बुझाएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन–पत्रमा छुवाछुत र जातीय विभेद गर्ने गाँउपालिका अध्यक्ष यादवलाई निलम्बन गरी हदैसम्म कारबाही गर्न माग गरिएको छ ।

    साथै भोजमा सहभागी भएर जातीय विभेद र छुवाछुतको कुप्रथालाई प्रश्रय दिने सार्वजनिक पदधारण गरेका व्याक्तिहरुले सार्वजनिक रुपमा माफी माग्नुपर्ने पनि माग गरिएको छ ।

    गाँउपालिका अध्यक्ष यादवले भोजमा प्लेकार्ड नै टाँसेर गैरदलित, मुस्लिम र दलितलाई अलग अलग खाने ठाउँ छुट्टयाएर जातीय भेदभाव गरेकाले कारबाहीको माग गरिएको फिस फर दलित फाउण्डेसन पर्साका अध्यक्ष मनोज रामले बताए ।

    ‘गाउँपालिका अध्यक्ष यादवले अक्षम्य अपराध गरेका छन् । त्यसकारण उनलाई निलम्बन गरी जातीय विभेद एवं छुवाछुत कसूर सजाय ऐन, २०६८ बमोजिम हदैसम्मको कारबाही हुनुपर्छ’ उनले भने ।

  • सम्बन्धित विषय:

  • # दलितमाथि विभेद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology