कुवेतस्थित मुबारक अल कविर अस्पतालमा पाच जना नेपालीहरु उपचाररत छन । चार महिला र एक पुरुष उपचाररत मध्य एक महिलाको स्वास्थ्य अवस्थामा भने सुधार आउन नसकेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतका अध्यक्ष रणध्वज लामाले जानकारी दिएका छन । अध्यक्ष सहितको टोलिले अस्पतालमा उपचाररत बिरामीहरुलाई भेटेर उनीहरुको स्वास्थ्य अवस्था बारेमा जानकारी लिएका हुन ।
मोरङ स्थित काने पोखरी स्थायी घर भई रोजगारीको सिलसिलामा कुवेत आएकी आशादेवी राई दुई महिना पहिले उच्च रक्तचापका कारण अचेत अवस्थामा अस्पातल पुगेकी थिइन । झन्डै एक हप्ता कोमामा राखेर उपचार गरिएको थियो । अहिले उनलाइ वार्डमा सारेर उपचार गराइरहेको छ । उनको दाहिने तर्फ आधा शरीर प्यारालाइसेस भएको थियो । तर डाक्टरको सल्लाह र आफैले नियमित फिजियो थेरापी गरिरहेकोले अहिले लगभग उनको स्वास्थ्य मा सुधार आएको छ । उनलाइ नेपाल पठाउन नेपाली दूतावासले पहल गरिरहेको छ । त्यस्तै झन्डै तीन महिना पहिले सप्तरिया चौधरी पनि हात खुट्टाको जोर्निमा पानी जमेर सुन्निएर उपचारका लागि अस्पताल पुगेकी थिइन । उनको शरीर पनि सुन्निएर सडिसकेको अवस्थामा अस्पताल पुगेकी थिइन। उनलाइ पनि तीन महिना लामो उपचारले लगभग ठिक भईसकेको छ । उनको पनि नेपाल फर्किनका लगि कागजी प्रक्रियामा रहेको छ।
पाल्पा घर भएकी कमला बिक पनि उच्च रक्तचापका कारण उपचाररत छिन । उनी पनि तीन महिना देखि उपचाररत छिन । तर उनको स्वास्थ्यमा भने खासै सुधार भएको छैन । उनको शरिरको दायाँ तर्फ पुरै शरीर हलचल गर्न नसक्ने भएको छ । उनले बोल्न पनि सक्दिनन। डाक्टरका अनुसार उनी फिजियो थेरापी गर्न मान्दिनन । त्यसैले उनको स्वास्थ्यमा सुधार आउन नसकेको अध्यक्ष लामाले बताए । म्याग्दी घर भएकी ओम कुमारी पुर्जा मगर पनि उच्च रक्तचापका कारण दुई महिना भन्दा लामो समयदेखी उपचाररत छिन। उनको पनि लगभग ठिक भैसकेको अवस्था छ। उनलाई पनि नेपाल फर्किनको लागि नेपाली दूतावासले पहल गरिरहेको छ । त्यहाँ उपचाररत चार जना महिला बिरामीहरु अवैधानिक (इल्लिगल) हैसियतमा बसोवास गरिरहेको भएर नेपाल फर्काउन समस्या र ढिलाइ भैरहेको छ । यही अस्पतालमा पतिराम दमाई पनि उच्च रक्तचापको कारण उपचाररत छन । उनी भने वैधानिक रुपमै कुवेतमा कार्यरत थिए ।
गैरआवासीय नेपाली समन्वय संघ राष्ट्रिय समन्वय परिषद कुवेतका अध्यक्ष लामाले भने 'एउटै अस्पतालमा ५ जना बिरामीहरु उपचार गराइरहेको भेट्दा निकै दुख लागेको छ ।
वास्तवमा हामिले आफ्नो स्वास्थ्यको नियमित चेकजाँच तथा आवश्यक व्याम सम्बन्धी ध्यान नदिएको र खानपानमा समेत ख्याल नगरेका कारण उच्च रक्तचाप र अन्य विभिन्न रोगको शिकार बन्न परेको छ' । अध्यक्ष लामाले कुवेतमा कार्यरत सम्पूर्ण नेपालीहरुलाई आफ्नो स्वास्थ्यको नियमित चेकजाँच तथा आवश्यक व्याम सम्बन्धी ध्यान दिन र खानपानमा समेत ख्याल गर्न आग्रह गरेका छन । अस्पतालमा उपचाररत चार जना बिरामीको स्वास्थ्यमा सुधार भएकाले जतिसक्दो छिटो नेपाल पठाउन नेपाली दूतावास कुवेत संग समन्वय गरि पहल भईरहेको अध्यक्ष लामाले बताए ।