Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आँखाको नानीमा नेपाल आत्मनिर्भर छ : नेपाल आँखा बैंक

आँखाको नानीमा नेपाल आत्मनिर्भर छ : नेपाल आँखा बैंक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २५, २०८० बिहिवार • १९:५४:३१ बजे
  • 787
    SHARES
  • आँखाको नानीमा नेपाल आत्मनिर्भर छ : नेपाल आँखा बैंक
    आँखा दान गर्नेको सङ्ख्या बढेसँगै  आँखाको नानीमा नेपाल आत्मनिर्भर बनेको नेपाल आँखा बैंकले बताएको छ ।
     
    आँखा दानप्रतिको बद्लिँदो सकारात्मक सोचका कारण दाताको सङ्ख्या बढ्दै गएको बैंकका व्यवस्थापक शङ्करनारायण न्वयनाले बताउनुभयो । आज यहाँ आयोजित ‘आँखादान तथा सामूहिक श्रद्धाञ्जलीसभा सम्बन्धी पत्रकार सम्मलेन’ मा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले भन्नुभयो, “बैंकमा आँखाको नानी सुरुको अवस्थामा विदेशबाट झिकाइन्थ्यो भने अहिले आँखाको नानी देश भित्रबाटै सङ्कलन हुन्छ ।” उहाँका अनुसार अहिले बैंकले देशभित्र अन्य अस्पतालमा समेत प्रत्यारोपणका लागि आँखाको नानी उपलब्ध गराउँदै आएको छ । 
     
    नेपाल आँखा बैंकमा हालसम्म एक लाखभन्दा बढी दाताले मृत्युपर्यन्त आँखाको नानी दान गर्ने प्रण गरिसकेको र भने १२ हजारभन्दा बढीले आँखाको नानी दान प्राप्त गरी पुनःदृष्टि प्राप्त गरेको उहाँले जानकारी दिनुभयो ।
     
    बैंकले सन् १९९४ मा दुई दाताबाट आँखाको नानी सङ्कलन सुरु गरेको थियो । बैंकले हाल वार्षिक एक हजार तीन सय दाताबाट आँखाको नानी सङ्कलन गर्दै आएको छ । सन् २०१८ मा एक हजार एक सय ७८ दाता र सन् २०२२ मा एक हजार ४३ दाताबाट आखाँको नानी सङ्लग्न गरेर प्रत्यारोपण गरिएको छ । 
     
    बैंकका निर्देशक डा लिना बज्राचार्यले आँखा दानप्रतिको बढ्दो सकारात्मक सोचका कारण दाताको सङ्ख्या बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुआतमा पशुपतिको आर्यघाटलगायत विभिन्न ठाँउमा गएर आँखा दानसम्बन्धी मानिसमा जनचेतना जगायौँ । अहिले मन्दिरदेखि अस्पतालसम्म दाताका आफन्तलाई ‘काउन्सिलिङ’ गरिरेहका छौँ । आँखा दानप्रतिको सोचमा सकारात्मक  परिवर्तन पाएका छौँ ।”
     
    आँखा दानसम्बन्धी सचेतना बढे पनि अन्धविश्वास चुनौती बनेको उहाँ बताउनुहुन्छ । “मृत्युपछि आँखाको नानी दान गर्नेको सङ्ख्या दोब्बरले बढेको छ । तर कतिपय अझै पनि अन्धविश्वासका कारण दान गर्न हिचकिचाउनुहुन्छ । उहाँहरूलाई हामी सक्दो काउन्सिलिङ गर्दै आएका छौँ”, उहाँले भन्नुभयो ।
     
    नेपाल आँखा बैंकले सन् १९९४ देखि नै मृत्युपश्चात आँखाको नानी दान गर्ने दाताहरूबाट नानी सङ्कलन, परीक्षण र सञ्चयलगायत आवश्यक परेकालाई नानी उपलब्ध गराउने कार्य गर्दै आएको छ । बैंकले स्थानीय आँखा अस्पतालको समन्वयमा मेची, विराटनगर, लहान, हेटौँडा, भरतपुर, लुम्बिनी, पोखरा र कैलालीमा पनि क्षेत्रीय आँखा नानी सङ्कलन केन्द्रबाट आँखाको नानी सङ्कलन गरिरहेको छ ।
     
    “अहिले यी सँगै आर्यघाट, विद्युतीय शवदाह गृहलगायत काठमाडौँमा रहेका चार वटा ठूला अस्पताल वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, गङ्गालाल मुटु अस्पताल र पाटन अस्पतालमा आँखा बैंकबाट खटाइएका परामर्शदाताबाट परामर्श तथा जानकारी दिने काम भइरहेको छ”, बैंकका व्यवस्थापक त्वयनाले भन्नुभयो ।
     
    चिकित्सकका अनुसार आँखाको नानीमा सङ्क्रमण भएर, चोट लागेर, जन्मजात फुलो परेर समयमै उपचार नपाउँदा, अशिक्षा, अज्ञानता र गरिबीको कारणले गर्दा र विभिन्न घरेलु तथा अन्य हानिकारक परम्परागत उपचारका कारण आँखाको नानी बिग्रने सम्भावना बढी हुन्छ । 
     
    आँखाको नानी रोग विशेषज्ञ चिकित्सक डा बन्दना खनालले नेपालमा दृष्टिविहीनको दोस्रो मुख्य कारण आँखाको नानी बिग्रिनु भएको बताउनुभयो । उहाँले आँखाको नानीको प्रत्यारोपण गरी पुनः दृष्टि दिलाउन सकिने भन्दै आँखा दानसम्बन्धी सचेतना बढाउनुपर्नेमा जोड दिनुभयो ।  
     
    पत्रकार सम्मेलनमा मृत्युपछि आँखाको नानी दान गर्ने दाताको सम्झना र सम्मानमा उनीहरूको परिवारको उपस्थितिमा शनिबार सामूहिक श्रद्धाञ्जलीसभाको आयोजना गरिने बैंकका व्यवस्थापक त्वयनाले जानकारी दिनुभयो । उहाँले  भन्नुभयो, “कोरोनाका कारण तीन वर्षमा सामूहिक श्रद्धाञ्जलीसभा हुन सकेन । यही परम्परालाई निरन्तरता दिँदै यस वर्ष तिलगङ्गा आँखा अस्पतालमा सामूहिक श्रद्धाञ्जली सभाको आयोजना गर्दैछौँ । सभामा दाताका आफन्त र आँखाको नानीबाट पुनःदृष्टि पाएका सहभागी हुनुहुनेछ ।” उहाँले यस सभाले आँखादानको महत्त्वबारे पनि सु–सूचित गर्ने विश्वास व्यक्त गर्नुभयो ।  

  • सम्बन्धित विषय:

  • # नेपाल आँखा बैंक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology