वर्तमानको विज्ञान र प्रविधिले फड्को मारेको एक्कासौ शताब्दीमा मानवको दैनिक जीवनको एक आधारभूत तत्त्वका रुपमा समेत ख्याती प्राप्त गर्न सफल ,एक अत्यन्तै रोचक विषय हो सामाजिक सञ्जाल । हालको आधुनिक क्षणमा निकै नै प्रख्यात र बहु-चर्चित रहेको पाइन्छ, उक्त सामाजिक सञ्जाल ।
सामाजिक सञ्जालको विषय वस्तु तर्फ लाग्नु पूर्व एउटा अत्यावश्यक शीर्षक बारे जानकार हुन जरुरी छ, ईन्टरनेट । ईन्टरनेट भनेको आधुनिक प्रविधी द्वारा निर्मित यो संसारका समस्त कम्प्युटर लगायतका विद्युतीय यन्त्र तथा नेट्वर्क हरुबिचको एउटा सबै भन्दा ठूलो साझा सञ्जाल हो । त्यसै गरि , सामाजिक सञ्जाल भनेको ईन्टरनेट द्वारा सञ्चालित एउटा यस्तो विद्युतीय ( डिजिटल) क्षेत्र हो जहाँ मानिसहरुले एक अर्का सँग अन्तर-सम्बन्ध स्थापना गर्दै , आफ्ना मनका विचार तथा भावनाहरु हजारौ मानिसहरुको डिजिटल कोलाहलमा व्यक्त गर्नसक्दछन ।वर्तमानको समयमा लाखौ करोडौ सामाजिक सञ्जालहरु सुचारु गरिएको छ भने फेसबुक ,ट्विटर, मेसेन्जर, गुगल,स्न्याप च्याट, ईन्स्टाग्राम, इमो, भाइबर, स्काइप, टिकटक आदि निकै अग्र स्थानमा रहेको पाइन्छ । त्यसै , तमाम बालबालिकाहरुमा निकै नै प्रचलित भिडियो गेमहरुलाई पनि सामाजिक सञ्जाल भन्न नसकिने होइन ।
अहिलेको युगमा, भर्खर उम्रदै गरेका कलिला बाल बालिकाहरु देखि लिएर अस्ताउने क्रममा रहेका वृद्धा-वृद्धीहरुको हातमा सामाजिक सञ्जालको पहुँच देख्न सकिन्छ र अन्य युवा वर्ग त छदै छन् , उनीहरु सबैको फेसबुक एकाउण्ट देख्न सकिन्छ । यति प्रगाढ अग्रता बोकेको सामाजिक सञ्जालले मानव जीवनमा विभिन्न सकारात्मक तथा नकारात्मक प्रभाव पारेको पाइन्छ ।
प्रथमतः सामाजिक सञ्जालका मानव जीवनमा निकै धेरै सकारात्मक पाटाहरु रहेका छन् । यो विभिन्न मानिसहरुका लागि, विभिन्न क्षेत्रमा र विभिन्न सन्दर्भमा मानिसहरुका लागि फाइदाजनक रहेको हुन्छ । हामी विद्यार्थीहरुको सन्दर्भमा भन्नू पर्दा, कोरोना महामारीको कहाली लाग्दो समयमा , विद्यालय गएर भौतिक रुपमा पठन पाठन गर्न असक्षम भएको बेला , जुम, गुगल क्लास रुम लगायतका सामाजिक सञ्जालहरुको प्रयोग गरेर आफ्नो पढाईलाई निरन्तरता दिन सक्यौ । र विद्यालय गएरै पढ्न सक्ने वातावरणमा पनि हामीले आफूलाई गाह्रो लागेका विभिन्न शैक्षिक अवधारणा तथा कठिन प्रश्नहरु बारे गुगल तथा विकिपिडियामा हजारौ मानिसहरुका विचारलाई आधार मान्दै आफ्नो गहन अध्ययन सञ्चालन गर्न सक्दछौ । अतिरिक्त सीप र अन्तरनिहित क्षमताको अभिवृद्धिका लागि हामीले सामाजिक सञ्जाल मार्फत विभिन्न सचेतना मूलक कार्यहरुमा सहभागी हुन सक्दछौ ।
विद्यार्थीहरु बाहेक अन्य मानिसहरुका लागि सामाजिक सञ्जाल अति महत्त्वपूणर् र आवश्यक रहेको हुन्छ । विभिन्न व्यापारीहरुले अनलाईन मार्फत आफ्नो व्यापार फस्टाउन र त्यसको प्रचार प्रसार गर्न सक्दछन । इ-कमर्स लगायतका कार्यहरुमा पनि सहभागी हुन सक्दछन । घरमा काम गर्ने गृहिणीले समेत सामाजिक सञ्जालका मार्फत रेसिपीहरु हेरेर मिठा मिठा पकवानहरु बनाउन सक्दछिन । सामाजिक सञ्जाल मार्फत हाम्रा देशमा भएका तमाम स्रोत साधनको प्रचार प्रसार गरेर अधिकतम मात्रामा पर्यटक हरु भित्र्याएर पर्यटन विकासका पाइलाहरु चाल्न सकिन्छ ।
प्रत्यक कूराका आफ्ना फाइदा साथ साथै बे-फाइदा पनि हुन्छन भने जस्तै सामाजिक सञ्जालका विभिन्न बेफाइदा पनि रहेका छन । बाल बालिकाहरुको शिक्षामा त्यति ठूलो सहयोग पुर्याउने सामाजिक सञ्जालको दुरुपयोग गरेको खण्डमा यसले विद्यार्थीहरुमा पढाइ प्रतिको लगाव तथा आकर्षण घट्न सक्छ । यसका कारण युवा वर्गमा लागू पदार्थ लगायतका हानिकारक कूराहरुको दुर्व्यसन वृद्धि भएको छ । मेहेनत गरेर पढ्ने उमेरका बालबालिकामा विभिन्न भिडियो गेम प्रती आकर्षण र योन दुर्व्यसनको समेत विकास भएको छ । सामाजिक सञ्जाल मार्फत साइबर अपराध जस्ता अमानवीय क्रियाकलापहरु पनि हुन सक्दछन।
यसर्थ, सामाजिक सञ्जाल भनेको एउटा माटोको डल्लो जस्तै हो जसलाई जथाभावी गिथल्यो भने जता ततै फोहोर हुन्छ तर जसको समुचित प्रयोग गरेको खण्डमा राम्रा राम्रा माटाका भाडाहरु बन्छन र जसमा कला कृतिलाई व्यक्त गरि सुन्दर मूर्तीहरु बनाउन सकिन्छ । यस कारणले,हामी सबै प्रयोगीहरुले सामाजिक सञ्जालका सकारात्मक पक्ष केलाएर मात्र तिनको प्रयोग गर्नु पर्दछ ।
आदर्श बिद्यामन्दिर आ. मा. बि, बागलुङ,