कुवेत - तमू समाज कुवेतले 'आठौ वृहत रक्तदान' कार्यक्रम आगामी ०३ मे २०२४ मा गर्ने भएको छ ।
'रक्तदान जीवन दान' भन्ने नारा सहित तमू समाजले कुवेतको सेन्ट्रल ब्लड बैंकको बिशेष सहयोगमा कुवेतस्थित जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा रक्तदान कार्यक्रम गर्न लागेको हो । तमू समाज कुवेतले विगत २०१३ सालदेखी कुवेत नगरीमा वार्षिक सामुहिक खुल्ला रक्तदान कार्यक्रम संचालन गर्दै आएको छ । तमू समाज कुवेतले यो आठौ पटक बृहत रक्तदान कार्यक्रम संचालन गर्न लागेको हो ।
तमू समाज कुवेतले उपचारमा रगत आवश्यकता परेका धेरै बिरामीलाई रगत उपलब्ध गराई सकेको छ । मानिसको शरीरमा भएको रगत दान नगरेपनि तीन महिनामा त्यो रगत त्यतिकै खेर जान्छ । त्यसैले खेर जाने रगत दान गर्दा कसैको ज्यान बच्न सक्छ । रक्तदान गरेजस्तो पुण्यको काम अरु केही हुँदैन । यदी रक्तदान नगरे आवश्यक व्यक्तिले कसरी रगत पाउँछन् । जीवन यापनको दौडानमा हुनसक्ने सम्भावित दुर्घटना या जुनसुकै कारणवश शरीरमा रगतको कमी भई जिबन र मृत्युको दोसाँधमा अल्झिरहेका मनिसहरुको जीवन रक्षा गर्न मद्दत पुग्ने भएकोले रक्तदानको धेरै महत्व छ ।
सामान्यतया एउटा व्यक्तिको शरीरमा छ लिटर (करिब दश युनिट) रगत उत्पादन हुने हुदा रक्तदानको समयमा भने एक युनिट अर्थात ४७० मिलिमिटर रगत मात्र निकालिने गरिन्छ । त्यो भनेको शरीरमा भएको सबै रगतको १२ देखि १४ प्रतिशत मात्र भएकाले रक्तदानका क्रममा त्यसरी रगत निकाल्दा व्यक्तिलाई भने कुनै हानी गर्दैन ।
उक्त दिन हुने रक्तदान कार्यक्रममा स्वास्थ्यकर्मीहरूबाट रक्तदान गर्नु पूर्व रक्तदान केन्द्रमा सामान्य स्वास्थ्य परिक्षण पश्चात् मात्र रक्तदान गर्ने सकिने छ । यस विशेष अवसरमा आयोजना हुने पवित्र कार्य (रक्तदान कार्यक्रम) मा स्वतः स्फूर्त सहभागिताका लागि समेत कुवेतमा कार्यरत नेपालीहरुलाई तमू समाज कुवेतले अनुरोध गरेको छ ।
रक्तदाताहरूले रक्तदान गर्नु भन्दा पहिले र गरे पश्चात् ध्यान दिनु पर्ने कुराहरू :
रक्तदान गर्नु भन्दा पहिले
१) साधारण पौष्टिक खाना खाने, भोको पेट हुनु हुन्न ।
२) रक्तदान गर्नु पहिले प्रशस्त पानी पिउने ।
३) अघिल्लो रात प्रशस्त सुत्ने ।
४) आफ्नो परिचय पत्र (सिभिल आईडी वा पासपोर्ट कपी) साथमा लिएर जाने।
रक्तदान गरी सके पश्चात् :
१) केही हल्का खाजा खाने वा जुस पिउने ।
२) पानी वा जुस प्रशस्त पिउने ।
३) घेरै हिड्दुल नगरि केही बेर आराम गर्ने ।
४) कमसेकम रक्तदान गरेको २४ घण्टासम्म भारी काम नगर्ने ।
रक्तदान कार्यक्रमको मिति, समय र स्थान निम्न रहेको छ ।
मितिः शुक्रबार, ०३ मे २०२४,
समय : दिनको ठिक १:०० बजे
स्थानः सैन्ट्रल ब्लड बैंक, जाब्रिया, कुवेत सिटी ।