कुवेतमा उभौली पर्व तीन किराती संस्थाहरु किरात राई यायोक्खा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्त रुपमा धूमधामका साथ उभौली पर्व मनाएका छन ।

कुवेतस्थित खैतानमा रहेको राजधानी होटलमा ७ जुन २०२४ का दिन “भाषा, संस्कार, संस्कृतिको संरक्षण, किरातीहरुको साझा अभियान” भन्ने मुल नाराका साथ तीन किरातीहरुको सस्थाले संयुक्त रुपमा साकेला उभौली, यक्वा तङ्नाम, रापवा श्यादर पिदर येले दोङ्, येले तङ्बे,येले थोचे,५०८४ अवसरमा शुभकामना आदानप्रदान गर्नुको साथै अतिथि कलाकार गायक तथा संगीतकार अनिल कोयी राईको बेजेडो सांगीतिक प्रस्तुति सहित कार्यक्रम सम्पन्न भएको हो ।

किरातीहरूले यो पर्व सालमा दुई पटक मनाउने गर्छन । उभौली र उधौली वैशाख पूर्णिमामा उभौली र मङ्सिर पूर्णिमामा उधौली मनाइन्छ । उभौलीलाई बालीनाली लगाउने र उधौलीलाई थन्क्याउने अवसरका रूपमा उनीहरुले मान्दै आएका छन्। वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको यो पर्व लगातार एक महिनासम्म मनाइन्छ।कार्यक्रमको मुख्य आकर्षक नेपाली सांगीतिक जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल वरिष्ठ गायक तथा संगीतकार अनिल कोयी राईले आधुनिक तथा पूर्वेली र साकेला गीतहरु गाएर उपस्थित सबै लाई नचाएका थिए भने साकेला चाडको अवसरमा परम्परागत भेषभूषामा सजिएका तीन किरातीहरुले आफ्नो समुदायका मान्छेहरु भेला भएर गोलो घेरामा ढोल बजाउँदै साकेला नृत्य प्रस्तुत गरेका थिए । राईहरुको मौलिक झाँकी साकेला नाच, लिम्बूहरुको मौलिक नाच केलाङ नाच र सुनवारहरुको मौलिक झाँकी श्याँदर नाच रहेको थियो भने साथमा संस्थाका कलाकारहरुले एकल गीत, एकल नृत्य, युगल तथा सामुहिक नृत्य प्रस्तुत गरेका थिए ।

किरात याक्थुङ चुम्लुङ कुवेतका अध्यक्ष लिला भक्त चेम्जोङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली दूतावास कुवेतका राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथिमा एनआरएनए एनसीसी कुवेतका अध्यक्ष रणध्वज लामा, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष राज मल्ल, आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ, एनआरएनए आईसिसि सदस्य हरि लावती रहेका थिए । त्यसैगरी अतिथिमा कुवेतमा कृयाशिल विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, कलाकार लगायत रहेका थिए ।
राष्ट्रिय गानको गुन्जनका साथ सुरु भएको कार्यक्रममा प्रमुख अतिथि, सभापति र बिशेष अतिथिले सामुहिक रुपमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए । उक्त कार्यक्रम लाई किरात याक्थुङ चुम्लुङ कुवेतका उपाध्यक्ष अमित किराति र किरात राई यायोक्खा कुवेतका महासचिव -रोशन राईले संयुक्त रुपमा संचालन गरेका थिए भने कार्यक्रमको संयोजकको भुमिका किरात याक्थुङ चुम्लुङ्ग कुवेतले गरेको छ ।