कुवेतको मङ्गाफस्थित एनबीटीसी कम्पनीको श्रमिक क्याम्पमा आगलागीमा ४९ जनाले ज्यान गुमाएका छन । अधिकारीहरूले ४८ शव पहिचान गरेका छन्, जसमध्ये ४५ भारतीय नागरिक र ३ जना फिलिपिनो नागरिक रहेका छन । अन्य मृतकको सनाखत हुन बाकी रहेको प्रथम उपप्रधानमन्त्री, आन्तरिक मामिला तथा रक्षा मन्त्री शेख फहद अल-युसेफले जानकारी दिएका छन ।
सुरक्षा स्रोतका अनुसार अधिकारीहरूले गरेको अनुसन्धानले भवनमा १९६ जना कामदार बसोबास गरेको पाइएको छ, जसमध्ये १७ जना अब्दालीमा कामका लागि गएका थिए । ७४ जना बाँच्न सफल भएका छन् । भवनमा १७५ जना भारतीय, ५ जना नेपाली, ११ जना फिलिपिन्स, २ जना पाकिस्तानी र २ जना इजिप्सियन थिए ।
अग्निनियन्त्रकहरूले भवनबाट १५० जना कामदारलाई बाहिर निकाले र भुइँ तल्लामा आगो निभाउन सुरु गरेका थिए । विशेष गरी कामदारको मेस हल र गार्डको कोठा र पहिलो तल्लासम्म आगो फैलिसकेको थियो । अग्निनियन्त्रकहरूको द्रुत कार्यले आगो निभाउन सफल भएको थियो र माथिल्लो तलाहरूमा आगो फैलिनबाट जोगिएको थियो ।
भवनको भुइँ तल्लामा रहेको भण्डारण क्षेत्र कामदारहरूका लागि खाना पकाउन प्रयोग गरिने भान्साकोठा भएको अनुसन्धानले देखाएको छ । यो भान्सा, कोठामा २१ ग्यास सिलिन्डर फेला परेको थियो । नेपाली दूतावास कुवेतका अनुसार आगलागीबाट सामान्य घाइते भएका शिवशंकर पासवान र दोर्जे लामाको अदान अस्पतालमा उपचार भैरहेको छ ।
अस्पतालमा उपचाररत २ जना नेपालीको अवस्था समान्य रहेको छ । उनीहरुलाई अस्पतालमा पुगेर भेटघाट गरि स्वास्थ्य अवस्था बारे जानकारी लिएको जनाएको छ । दिनेशकुमार मण्डलको भने फरवानिया अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भैसकेको दूतावासले जनाएको छ । त्यस्तै, जाकिर नाडाफ र सन्तोषकुमार गोइत भने सुरक्षित रहेको कम्पनीले जानकारी दिएको दूतावासको भनाई छ ।