कुवेत- नेपाल पत्रकार महासंघ वैदेशिक शाखाहरुले संयुक्त विरोध प्रेस विज्ञप्ति जारी गरेका छन ।
नेपाल पत्रकार महासंघ केन्द्रको असार २२ गते हुने भनिएको निर्वाचन प्रकृयामा वैदेशिक शाखाहरुलाई वञ्चित गरिएको प्रति संयुक्त विरोध गरेका हुन । नेपाल पत्रकार महासंघको बिधानको परिच्छेद ५ को दफा १६ को उपदफा ४ अनुसार निर्वाचनमा सम्पूर्ण सदस्यहरुले मत हाल्न पाउनु पर्ने स्पष्ट प्रावधान हुँदा-हुँदै बिभिन्न बहाना बनाएर प्रवास शाखाका सदस्यहरुलाई वञ्चित गर्नुले निर्वाचनको बैधता माथि प्रश्न उठेको छ । बिभिन्न जोखिमहरु मोलेर विदेशमा रहेका ५० लाख नेपालीहरु बिच पत्रकारिता गर्दै आईरहेका सयौं पत्रकारहरुलाई गरिएको यो उपेक्षा कुनै हालतमा पनि सैह्य नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
महासंघका अध्यक्ष लगायत पदाधिकारीहरुलाई पटक-पटक ध्यानाकर्षण गराउँदा पनि लोकतन्त्रको पहरेदार रहेको संस्थाले आफ्ना सदस्यहरुलाई मतदान प्रकृयामा बन्चित गरेर गरेको निर्वाचन लोकतन्त्रको मुल्य र मान्यता बिपरित हुने भन्दै वैदेशिक शाखाहरुले संयुक्त विरोध गरेका छन । साथै असार २२ गते हुने भनिएको उक्त निर्वाचनमा प्रवास शाखाका सदस्यहरुलाई तत्कालको लागि शाखाले सिफारिस गरे बमोजिम वा नेपालमा सम्बन्धित शाखाहरु मार्फत निर्वाचन प्रकृयामा सामेल गर्न गराउन प्रेस विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।

