फकिर-कुवेतमा एक नेपाली महिलाको निधन भएको छ । वैदेशिक रोजगारीको लागी कुवेत आएकी शिवसतासी नगरपालिका - २ झापा स्थायी घर भएकी ४७ वर्षीया कल्पना भुजेलको गत जुलाई १५ तारिक उपचारको क्रममा कुवेतको मुबारक अल कबिर अस्पतालमा मृत्यु भएको हो ।
कल्पनाको मृत्यु हुनुभन्दा पहिले घर फर्काईदिन्छु भनी एक लाख कुम्लाएर एक व्यक्ति भने फरार भएका छन । झापाली समाज कुवेतका अध्यक्ष धिमालका अनुसार कुवेतको एजेण्ट दिपक अधिकारी भन्ने व्यक्ति फरार भएका हुन । कल्पना बिरामी भएर काममा जान नसकेपछि उनले दिपक अधिकारी भन्ने ब्यक्ति ( कुवेतको एजेण्ट ) लाई घर फर्काईदिन अनुरोध गरेकी थिईन । उनले एकलाख दिए घर पठाईदिने भनेपछी कल्पना ( मृतक )को नेपालका आफन्तले दिपक ( एजेण्ट ) को आफन्तको खाता मार्फत एक लाख दिएका थिए ।
मिडियालाई प्राप्त प्रमाण अनुसार इलाम स्थित नेपाल एसबिआई बैंक मार्फत अधिकारीको आफन्त मिरा रानामगरको खातामा सो पैसा हालिएको देखिन्छ । नेपालमा उक्त पैसा पाएपछी कुवेतको एजेण्ट भनिएका अधिकारी भने फरार थिए । फरार अधिकारीलाई कुवेत प्रहरीले पक्रेर नेपाल 'डिपोर्ट' गरिसकेको बुझिएको छ । मृतक भुजेल नेपालबाट एजेण्टका रुपमा काम गर्ने भद्रपुर नगरपालिका - ४ राईटोल झापा स्थायी ठेगाना भएका धनिराम राई भन्ने ब्यक्तिको माध्यमबाट कुवेत आएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
नेपाली दूतावास कुवेतका अनुसार उनको स्वास्थ्यमा समस्या रहेको थियो । करिब तीन साता दूतावासको संरक्षणमा बसेकी कल्पनाको स्वास्थ्य स्थिति झन् गम्भीर हुँदै गएपछी अस्पताल पठाईएको नेपाली दूतावासले जनाएको छ । 'उहाँ बिरामी भएर दूतावासमा आउनुभएको थियो । बीस दिनजति हाम्रै संरक्षणमा बसेपछी स्वास्थ्य झन् खराब भएर एम्बुलेन्स बोलाएर अस्पताल पठाईएको हो ।' नेपाली दूतावासका सूचना अधिकारी प्रेमराज गौतमले भने । 'अस्पतालले डेथ सर्टिफिकेट नदिई सकेकाले मृत्युको एकिन कारण खुलिसकेको छैन । तर, उहाँ हाम्रो सम्पर्कमा आउँदादेखि नै बिमारी हुनुहुन्थ्यो ।' गौतमले बताए । 'उहाँलाई मैले अस्पतालमै गएर भेटेको । 'खानमन नलाग्ने, बान्ता हुने जस्ता लक्षण छ भन्नुहुन्थ्यो' अस्पतालमै पुगेर मृतक कल्पनालाई भेटि कुराकानी गरेर फर्किएका झापाली समाज कुवेतका अध्यक्ष राजु धिमालले बताए ।
मृतक भुजेलको शव मुबारक अस्पतालमै छ । शव नेपाल पठाउन आवश्यक प्रकृया सुरु गरिसकेको नेपाली दूतावास कुवेतले जनाएको छ ।
साभार् - निरेम


