कुवेत- नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको १५ औं स्थापना दिवस एवम् विदेश विमर्श कार्यक्रम सम्पन्न भएको छ । १५ औं स्थापना दिवसको अवसरमा स्व. माधव शाही स्मृति प्रवासी परोपकारी पत्रकारिता पुरस्कारबाट पत्रकार आनन्द आचार्य सम्मानित भएका छन ।
कुवेतको राजधानी होटेलको सभाहलमा अगष्ट २ तारिक शुक्रबार राज मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली दूतावास कुवेतका राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यता रहेको थियो । भने कार्यक्रममा नेपाली दूतावास कुवेतको प्रथम सचिव प्रेमराज गौतम, एनआरएनए एनसीसी कुवेतका अध्यक्ष रणध्वज लामा , महासंघका संरक्षकहरू जय आले तथा नवराज पन्थीको विशेष आतिथ्यता एवं राजनीतिक दलका वैदेशिक भातृ सगठनका प्रतिनिधि, कुवेतमा कृयाशिल विभिन्न संघ - संस्थाका प्रतिनिधि, समाजसेवी, व्यवसायी र कुवेतमा कृयाशिल मिडिया हावसका संचारकर्मी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय गान पश्चात् सभापति , प्रमुख अतिथि , विशिष्ट अतिथि लगायतले पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । भने सोही अवसरमा नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको वेबसाइटको पनि सुभारम्भ गरिएको थियो । कार्यक्रममा सदस्य प्रेम कुमार जिमीले स्वागत मन्तव्य राखेका थिए । जय आलेको संयोजकत्वमा राज मल्ल र लोमश बास्तोला सदस्य रहेको माधव शाही स्मृति प्रवासी परोपकारी पुरस्कार छनोट समितिले पत्रकार आनन्द आचार्यलाई छनोट गरेको थियो । संयोजक आलेले नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको इतिहास र गतिविधि बारेमा प्रकाश पार्दै पुरस्कारको लागि पत्रकार आनन्द आचार्यको नाम घोषणा गरेका थिए । पत्रकार आचार्यलाई नगद ७५ कुवेती दिनार , प्रशंसा पत्र र दोसल्ला ओढाएर सम्मान सहित पुरस्कृत गरिएको थियो । पत्रकार आचार्य कोसेली समुह कुवेतद्वारा संचालित तीतोपाटी डटकमका प्रबन्धक निर्देशक समेत हुन । उनले कुवेतमा कार्यरत रहेर विगत लामो समयदेखी परोपकारी पत्रकारितामा सकृय रुपमा कमल चलाउदै आएका छन । पत्रकार आचार्य नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको दुई कार्यकाल सचिब पद सम्हालिसकेका छन भने अहिले सल्लाहकार हुन ।

कार्यक्रममा राजनीतिक दलका वैदेशिक भातृ सङ्गठनका तर्फबाट रुपेन हमाल र संघ संस्थाका तर्फबाट एनआरएनए कुवेतका अध्यक्ष रणध्वज लामा, कार्यक्रमका मुख्य प्रायोजक अल मुजैनी एक्सचेन्ज कुवेतका बिजनेस डेभलभमेन्ट म्यानेजर मोजे काम्बल र नेपाल भुतान बिजनेस म्यानेजर राम बस्नेत लगातले महासंघको यस कार्यक्रमको सराहना गर्दै पुरस्कृत पत्रकारलाई हार्दिक बधाइ तथा शुभकामना दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि राजदूत लम्सालले शुभकामना मन्तव्य दिदै भने 'पत्रकार भनेको यस्तो जिम्मेवार पदाधिकारी हो जसले समाजलाई बाटो देखाउने र दोहोर्याउने काम गर्दछ । यदी पत्रकारले बाटो बिरायो भने समाजले बाटो बिराउन सक्छ र समाज दुर्घटना तर्फ उन्मुख हुन सक्छ । प्रवासमा पत्रकारिता आफ्नो प्राथमिक पेशा नभए पनि आफ्नो रोजीरोटी गर्ने पेशा अर्कै भए पनि अतिरिक्त प्रयास गरेर पत्रकारिता गरी यहा मात्र नभएर नेपालम रहेका परिवारले विदेशमा आफ्ना अभिभावक , छोराछोरी र आफन्तले के गरिरहेका छन भन्ने जानकारी लिन पाईरहेका छन । त्यसको लागि धन्यवाद दिन चाहन्छु । पत्रकारितामा कुनै पनि समाचार प्रकाशन गर्नु पुर्व क्रस चेक गर्न जरुरी छ । सधै सकारात्मक समाचार मात्र नभएर आलोचनात्मक समाचार समेत लेख्न र सहि समाचार सबै सामु पुर्याउनु पत्रकारको कर्तव्य हो । पत्रकारले समाजको ऐना देखाउनु पर्छ र निर्धक्क भएर आलोचनात्मक समाचार पनि लेख्न सक्न पर्छ' । पत्रकार महासंघ संग दूतावास सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा कुवेतको नेपाली समाजमा हुने हरेक नेपाली संघ सस्थाको कार्यक्रम भन्दा केही फरक र नयाँपन ल्याउने कोसिस गरिएको थियो । 'बिदेश विमर्श' पाँच शिर्षकमा सम्वाद भएको थियो । कुवेतको नेपाली समाजमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने लव्ध प्रतिष्ठित व्यक्तित्वहरूसँग समसामयिक विषयमा परिसंवाद शैलीमा विमर्श गरिएको थियो । विदेश विमर्श कार्यक्रममा खास गरि वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा रहेका नेपाली श्रमिकहरूका समस्याहरू, श्रमिकहरूका सेवा सुविधा वृद्धि, विदेशबाट मतदान गर्न पाउने विषय लगायत श्रमिक मैत्री कार्य गर्न तथा श्रमिक सचेतना कार्यक्रम गर्न दूतावासको भूमिक, संघ संस्थाको भूमिका, राजनीतिक दलका भातृसंगठनहरूको भूमिका, कुवेतमा उद्यम गरीरहेका व्यवसायीहरूको भूमिका,वैदेशिक रोजगारसँग सम्वध्द व्यवसायीहरूको भूमिका विषयमा कुराकानी भएका थिए ।

नेपाली दूतावासको भुमिका विषयकमा दूतावासका प्रथम सचिव प्रेमराज गौतम वक्ता थिए भने पत्रकार नबराज पन्थीले सहजीकरण गरेका थिए । सस्थाहरुको समिक्षा विषयकमा वक्ता एनआरएनए एनसीसी कुवेतका अध्यक्ष रणध्वज लामा थिए भने पत्रकार आनन्द आचार्यले सहजीकरण गरेका थिए । त्यस्तै प्रेम र ब्यापार विषयकमा युवा व्यवसायी प्रेम गुरुङ वक्ता रहेका थिए भने राजनीतिको राप विषयकमा जनसम्पर्क समिति कुवेतका सभापति केशर घलान वक्ता थिए भने पत्रकार सुरेश बुढाथोकीले सहजीकरण गरेका थिए । त्यसैगरी नेपाली किन इलिगल हुन्छ्न भन्ने विषयकमा महिला अधिकारकर्मीको तर्फबाट रमिता योन्जन वक्ता रहेकी थिइन भने अध्यक्ष राज मल्लले सहजीकरण गरेका थिए । कार्यक्रममा राजदूत, स्पोन्सर, एनआरएनए, मिडिया हावस र विशेष सहयोगी व्यक्तित्वलाई सम्मान गरिएको थियो ।