Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरणमा श्रीमान् पक्राउ

अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरणमा श्रीमान् पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ७, २०८१ शुक्रवार • ०५:३६:३२ बजे
  • 778
    SHARES
  • अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरणमा श्रीमान् पक्राउ

    अमेरिकाको भर्जिनिया राज्यमा नेपाली नर्स बेपत्ता प्रकरणमा प्रहरीले उनका श्रीमान् नरेश भट्टलाई नियन्त्रणमा लिएको छ । बिहीबार अपराह्न घरबाट प्रहरीले उनलाई हत्कडीसहित गाडीमा हालेर लगेको दृश्य स्थानीय सञ्चारमाध्यमहरुले प्रसारण गरेका छन् । भर्जिनियाको स्थानीय अनलाइन पोर्टल इन्साइड नोभा डटकमले लेखेअनुसार प्रहरीले २८ वर्षीया नर्स ममता काफ्लेको हत्या भएको आशंका गरेको छ र शव लुकाएको आशंकामा उनका श्रीमान् नरेशलाई पक्राउ गरेको हो । नरेशले पहिले स्थानीय सञ्चारमाध्यमहरुसँग श्रीमतीसँग आफ्नो कुनै झगडा पनि नभएको भन्दै जहाँ भएपनि आउन अनुरोध गरेका थिए ।

    images

    यद्यपि, उनी ममताको खोजी गर्न माग गर्दै भएको प्रदर्शनमा सहभागी भएका थिएनन् । मोबाइलबाटै सम्बोधन गरेका थिए र आफूले एक वर्षको बच्चाको ख्याल गर्नुपर्ने भएकाले आउन नसकेको बताएका थिए । जानकारहरुका अनुसार, महेन्द्रनगर कञ्चनपुर स्थायी घर भएका भट्टले सन् २०२० मा मात्र विवाह गरेका थिए ।

    दुईबीच पछिल्लो समय सुमधुर सम्बन्ध थिएन । काफ्लेले सम्बन्ध विच्छेद गर्न विभिन्न व्यक्तिहरुसँग परामर्श गरेको समेत खुलेको छ । तर, अन्तिम पटक जुलाई ३१ (१६ साउन) मा मनसास पार्कमा देखिएकी ममता काफ्ले त्यसयता सम्पर्कविहीन भइन् । श्रीमान् नरेशले खोजीका लागि निवेदन पनि दिएनन् । आफन्त र साथीभाइले चासो देखाएपछि केही दिनपछि प्रहरी आफैं उनको घरमा पुगेको थियो । त्यसपछि बल्ल उनले श्रीमती हराएको भन्दै प्रहरीलाई खोजी गरिदिन अनुरोध गरेका थिए ।

    मनसास पार्क पुलिस विभागले जारी गरेको सूचना अनुसार, उनीसँग साथीहरुले अन्तिम पटक २८ जुलाई (१३ साउन) मा कुरा गरेका थिए भने श्रीमान्ले ३१ जुलाई (१६ साउन) मा अन्तिम पटक देखेको बताएका छन् । पछिल्लो पटक प्रहरीले गरेको प्रेस ब्रिफिङमा मनसास पार्क पुलिसका प्रमुखले श्रीमान् नरेशले अनुसन्धानमा सहयोग नगरेको भन्दै उनी यो मामलामा शंकास्पद व्यक्ति भएको बताएका थिए । लगत्तै प्रहरीले उनको घरमा छापा समेत हानेको थियो ।

    इन्साइड नोभाले एक जना अटर्नीलाई उदृत गर्दै प्रहरीले थप प्रमाण फेला पारेपछि नरेशलाई पक्राउ गरेको भनेको छ । काफ्लेको अवस्था भने अहिलेसम्म पत्ता लागेको छैन । एबीसी न्यूजको वेवसाइटमा उल्लेख भएअनुसार, श्रीमान्ले तीन दिनपछि मात्र प्रहरी कहाँ उनी बेपत्ता भएको खबर गरेका थिए । त्यसपछिका दिनमा गुप्तचरहरुले पनि व्यापक जाँच गरेको भनिएको छ ।

    त्यसक्रममा पछिल्ला दिनहरुमा उनको परिवार, साथीभाइ र काम गर्ने ठाउँमा निकै कम सम्पर्क हुने गरेको पाइएको छ । उनका पूर्वसहकर्मी सुनिता बस्नेत थापाका अनुसार, उनको खोजीका लागि मनसास पार्कमा साथीभाइहरु स्वेच्छिक रुपमा भेला भएर प्रदर्शन समेत गरेका थिए । ‘उनी हराएको विषयमा सबैलाई थाहा होस् र मिडियासम्म पनि यो कुरा पुगोस् भनेर भेला भएका हौं’, उनले भनेकी छन् ।

  • सम्बन्धित विषय:

  • # श्रीमान् पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology