कुवेत - नेपाल कुवेत सांस्कृतिक मञ्चको आयोजनामा नेपाली महिलाहरुको महान पर्व 'हरितालिका तीज' लोकप्रिय लोकदोहरी गायिका प्रीति आले तथा स्थानीय कलाकारहरुको साथमा सम्पन्न भएको छ ।

प्रवासको कार्यव्यस्ततालाई मध्यनजर गर्दै आज शुक्रवारको दिन जिलिपस्थित एस्पाएर ईन्डियन स्कुलको सभाहलमा लोकप्रिय लोकदोहरी गायिका प्रीति आलेको धमकेदार सांगीतिक प्रस्तुतिमा कुवेतमा कार्यरत नेपाली महिलाहरुले छमछमी नाचेर तीज मनाएका छन ।

"हाम्रो संस्कृति हाम्रो पहिचान" भन्ने मुल नारालाई आत्मसात् गर्दै नेपाल कुवेत साँस्कृतिक मञ्चले हरेक वर्ष हरितालिका तीजको अवसरमा कार्यक्रम आयोजना गर्दै आएको छ । प्रवासमा रहेर पनि नेपाली कला र संस्कृतिको जगेर्णा तथा सांगीतिक मनोरन्जन प्रदान गर्ने उदेश्यले २४ औं प्रस्तुती हरितालिका तीज विशेष सांगीतिक धमाका आयोजना गरिएको हो ।

मञ्चका अध्यक्ष गोबिन्द बरालको साभापतित्व रहेको कार्यक्रममा नेपाली दूतावास कुवेतकी काउन्सेलर सुजनी रानाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी कार्यक्रममा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतका महेश पक्षधरका अध्यक्ष दिल कुमार पाख्रीन , बद्री पक्षधरका बिकास सिंह, एनआरएनए कुवेतका संरक्षक, आईसिसी सदस्य, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष राज मल्ल , कुवेतमा कृयाशिल विभिन्न संघ सस्थाका प्रमुख/ प्रतिनिधि , पत्रकार, व्यवसायी लगायतको आतिथ्यता रहेको थियो ।

त्यस्तै दिपेन्द्र निरौलाको संचालन रहेको कार्यक्रममा सल्लाहकार सुमित्रा पौडेलले स्वागत मन्तव्य राखेकी थिइन । प्रमुख अतिथिले कार्यक्रमको सफलता शुभकामना ब्यक्त गर्दै कुवेतमा कार्यरत नेपालीहरुलाई यहाँको निती, नियम पालना गर्न आग्रह गरेकी थिइन । मन्चले सहयोगीदाताहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो । इभेन्ट म्यानेज्मेन्टको जिम्मेवारी निरेमले लिएको थियो ।
