कुवेत सरकारले कानुन उल्लंघन गरेको भन्दै एक महिनामा करिब ३५ सय आप्रवासीलाई देशनिकाला (डिपोर्ट) गरेको छ ।
कुवेती सञ्चारमाध्यम अरब टाइम्सले यहाँको सुरक्षा विभागलाई उद्धृत गर्दै सन् २०२६ को जनवरी महिनामा मात्र करिब ३५ सय आप्रवासीलाई देशनिकाला गरेको जनाएको छ । एक विशेष सुरक्षा स्रोतका अनुसार गृह मन्त्रालयले सञ्चालन गरेको अवैधानिक विदेशी धरपकड अभियानका क्रममा आवासीय नियमहरूको उल्लङ्घन गरि अवैधानिक रुपमा बस्दै आएका व्यक्तिहरु, फरार व्यक्तिहरू, गैरकानूनी कामदारहरू र अन्य अवैधानिक कार्यमा संलग्न अपराधीहरूलाई पक्राउ गरि देशनिकाला गरिएको हो ।
सुरक्षा अधिकारीले आवासीय नियमहरु र श्रम कानून लागू गर्न अवैधानिक विदेशी धरपकड अभियान निरन्तर संचालन गर्दै आएको छ । गत वर्ष पनि आवासीय नियमहरूको उल्लङ्घन गर्नेहरू, फरार व्यक्तिहरू, गैरकानूनी कामदारहरू र अन्य अपराधीहरूलाई लक्षित गरी संचालन गरिएको अवैधानिक विदेशी धरपकड अभियानबाट हजारौं आप्रवासीहरु पक्राउ गरि देशनिकाला गरिएको थियो । सुरक्षा अधिकारीहरूले जनवरी महिनामा गरेको अवैधानिक विदेशी धरपकड अभियानले कुवेतको कानुनी आवश्यकता र राष्ट्रिय सुरक्षालाई कायम राख्न मन्त्रालयको निरन्तर संकल्पलाई प्रतिबिम्बित गर्दछ ।
विगतका वर्षमा पनि कुवेतको कानूनको उल्लङ्घन गर्ने व्यक्तिहरूलाई पत्ता लगाई देशनिकाला गर्न सबै गभर्नरेटहरूमा समन्वय गरि अवैधानिक विदेशी धरपकड अभियान सञ्चालन गरिएको थियो । त्यो अवधिमा दशौं हजार प्रवासीहरूलाई सामूहिक अपरेशनमा पक्राउ गरि देशनिकाला गरिएको थियो । यस वर्ष पनि सबै गभर्नरेटहरू संग समन्वय गरि अवैधानिक विदेशी धरपकड अभियान संचालनलाई निरन्तरता दिने प्रयास जारी राखेको छ ।
कुवेत सरकारले विगतका वर्षकोभन्दा पनि अझै कडा धरपकड अभियानको तयारी थालेको छ । कुवेतमा रही विभिन्न पेशा तथा व्यवसायमा आबद्ध आप्रवासीहरुले यहाँको कानून र मूल्य मान्यतालाई पालना गर्न सुरक्षा स्रोतले आग्रह गरेको छ । उक्त धरपकडमा पक्राउ गरिएका विदेशीहरूको राष्ट्रियता नखुलेको भए पनि पक्राउ पर्नेहरूमा अवैधानिक हैसियतले बसेका नेपालीहरू पनि रहेको अनुमान छ ।