कुवेत, २७ मार्च – तमु समाज कुवेतले जाब्रीयास्थित सेन्ट्रल ब्लड बैंकमा दशौं वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत १ सय २६ जना रक्तदाताले उत्साहपूर्वक रक्तदान गरेको कार्यक्रम संयोजक खोप गुरुङले जानकारी दिएका छन ।
नेपाली राजदूतावास कुवेतका राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको रक्तदान कार्यक्रममा एनआरएनए कुवेत, नेपाल पत्रकार महासंघ कुवेत लगायत विभिन्न नेपाली संघ-संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा नेपाली नागरिकहरुको उपस्थिति रहेको थियो ।

हालका दिनहरूमा मध्यपूर्वमा उत्पन्न तनाव र सम्भावित घटनाक्रमलाई ध्यानमा राख्दै, ब्लड बैंक कुवेतले स्वस्फूर्त रूपमा रक्तदान गर्न अनुरोध गरेको थियो । यसै अनुरोधलाई स्वीकार गर्दै तमु समाज कुवेतले रक्तदान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो । “रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानवीय भावनाका साथ तमू समाज कुवेतले हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । कुवेतमा रहेर रगतको अभाव भएका विरामीका लागि रगत उपलब्ध गराउन समेत सहयोग गर्दै आएको छ ।

यस रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरूले रक्तदानले जीवन बचाउन मात्र होइन, स्वास्थ्यको लागि पनि सकारात्मक प्रभाव पार्ने दावी गरेका छन् । यद्यपि, रक्तदान गर्ने प्रक्रियाप्रति केही मानिसहरूमा डर वा आनाकानी पनि गर्छन । तर, चिकित्सकहरूको अनुसार, नियमित रक्तदानले स्वास्थ्यमा सुधार ल्याउने र रोग प्रतिरोधक क्षमतामा वृद्धि गर्ने बताइएको छ ।
तमु समाज कुवेतको यो मानवीय कार्यले रक्तदानको महत्वलाई उजागर गर्दै, कुवेतमा रहेका नेपाली समुदायलाई एकता र सामाजिक जिम्मेवारीको भावना सँगै अघि बढ्न प्रेरित गर्ने काम गरेको छ । कुवेतमा रहेका नेपाली समाजको मानवता र एकताको बलियो सन्देश पनि प्रवाह गरेको छ ।