कुवेत सिटी
२०८३ वैशाख २७
खोटाङ-कुवेत सम्पर्क मञ्चले पक्षघात पीडित प्रेमबहादुर मगरलाई ९४ हजार बढी आर्थिक सहयोग गरेको छ । साथै थप उपचारका लागि आर्थिक सहयोगको अपील गरेको छ ।
खोटाङको बराहपोखरी गाउँपालिका-१ निवासी ७२ वर्षीय प्रेमबहादुर मगरको उपचारका लागि 'खोटाङ कुवेत सम्पर्क मञ्च' (खोकुसम) ले ९४ हजार ३३४ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । बिगत तीन महिनादेखि पक्षघात (Paralysis) का कारण ओछ्यान परेका मगरको स्वास्थ्य अवस्था अत्यन्तै जटिल बनेपछि मञ्चले यो मानवीय सहयोगको हात बढाएको हो ।

भौतिक रूपमा शरीर परदेशमा रहे पनि मन र भावना सधैं आफ्नै गाउँ-ठाउँमा हुन्छ भन्ने उदाहरण कुवेतमा कार्यरत खोटाङवासीले पुनः एक पटक प्रमाणित गरेका छन्। पारिवारिक स्रोत र चिकित्सकहरूका अनुसार प्रेमबहादुर मगर उच्च रक्तचापका कारण अचानक पक्षघातको शिकार हुनुभएको थियो । चिकित्सकहरूको भनाइ अनुसार उहाँको शरीरको दायाँ भागका हातखुट्टा चल्न छोडिसकेका छन् भने टाउकोको दायाँतर्फको नशासमेत सुकिसकेको छ । लामो समयसम्म अस्पतालमा उपचार गराउँदा र औषधि सेवन गर्दा परिवारको आयस्रोत र जायजेथा सबै सकिएको बताइएको छ ।
आर्थिक अवस्था अत्यन्तै कमजोर बनेपछि बिरामीको थप उपचारमा समस्या उत्पन्न भएको थियो। सोही मर्मलाई आत्मसाथ गर्दै स्थानीय बराहपोखरी गाउँपालिकाले पनि प्रेमबहादुरको उपचारमा सहयोग गरिदिनुहुन भन्दै आधिकारिक रूपमा अपील र विज्ञप्ति जारी गरेको थियो । गाउँपालिका र पीडित परिवारको अनुरोधलाई मध्यनजर गर्दै कुवेतमा कार्यरत खोटाङ्गेहरूको साझा संस्था 'खोटाङ कुवेत सम्पर्क मञ्च' ले सक्रियता देखाएको हो । गत २०८३ वैशाख २५ गते शुक्रबारका दिन कुवेतको साल्मियास्थित 'एसियन चुलो नेपाली रेस्टुरेन्ट' मा मञ्चको २४औं मासिक बैठक संस्थाका अध्यक्ष विष्णुप्रसाद भट्टराईको अध्यक्षतामा बसेको उक्त बैठकले सर्वसम्मत रूपमा प्रेमबहादुर मगरको उपचारका लागि आर्थिक सहयोग गर्ने निर्णय पारित गरेको थियो।

सोही निर्णय अनुसार संकलित उक्त रकम पीडितकी छोरी शान्तिकला मगर (बिष्ट) लाई हस्तान्तरण गरिएको जनाएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा मञ्चका प्रतिनिधिहरूले खोटाङ्गे समुदायको एकता र सेवाभावको चर्चा गरेका थिए। "हामी भौतिक शरीरले परदेशमा भए पनि हाम्रो मन सधैं खोटाङमै छ। आफ्नो जिल्लावासीलाई विपद् पर्दा सहयोग गर्नु हाम्रो कर्तव्य हो," मञ्चका अध्यक्ष विष्णुप्रसाद भट्टराईले बताउनुभयो।
खोटाङ कुवेत सम्पर्क मञ्चले यसअघि पनि जिल्लाका विभिन्न क्षेत्रमा प्राकृतिक प्रकोप, बिरामी र असहायहरूलाई निरन्तर आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ।
हालसम्मको उपचारले केही सुधार भए पनि पूर्ण निको हुनका लागि चिकित्सकहरूले प्रेमबहादुर मगरलाई थप उपचारका लागि भारत लैजान सल्लाह दिएका छन्। तर, हाल प्राप्त भएको सहयोगले मात्रै भारतमा गरिने लामो र खर्चिलो उपचार सम्भव नहुने देखिएको छ ।
तसर्थ, पीडित परिवार र सम्पर्क मञ्चले स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण मनकारी नेपालीहरू, समाजसेवी र संघ-संस्थाहरूलाई सक्दो आर्थिक सहयोग गरिदिनुहुन विनम्र अनुरोध गरेको छ । तपाईँको सानो सहयोगले एक वृद्ध बुवाको जीवन रक्षा हुन सक्ने भएकाले इच्छुक दाताहरूलाई सिधै परिवार वा मञ्च मार्फत सम्पर्क गर्न आह्वान गरिएको छ।
