कुवेत सिटी– निरेम प्रोडक्सन कुवेतको आयोजना तथा मेट्रो मेडिकल सेन्टरको सहकार्यमा महाबुल्लास्थित सुपर क्लिनिकमा एक दिने बृहत् स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शुक्रवार ५ जुन २०२६ मा आयोजित उक्त शिविरमार्फत कुवेतमा कार्यरत ३०० भन्दा बढी नेपाली श्रमिकहरूले प्रत्यक्ष स्वास्थ्य लाभ लिएका छन्।
शिविरमा सहभागीहरूले रगतमा मधुमेह (सुगर), कोलेस्ट्रोल तथा रक्तचापको निःशुल्क परीक्षण गराउनुका साथै आँखा, दाँत र जनरल फिजिसियनबाट विशेषज्ञ परामर्श सेवा प्राप्त गरेका थिए। विशेषगरी घरेलु महिला श्रमिक, विभिन्न कम्पनीमा कार्यरत श्रमिक र डेलिभरी क्षेत्रमा कार्यरत राइडरहरूको उल्लेख्य सहभागिता रहेको यस कार्यक्रममा मेट्रो मेडिकल सेन्टरले अन्य आवश्यक परीक्षणहरूमा समेत विशेष सहुलियत प्रदान गरेको थियो ।
कार्यक्रममा कुवेतका लागि नेपाली राजदूत महामहिम घनश्याम लम्सालको उपस्थिति रहेको थियो । राजदूत लम्सालले नेपाली समुदायको स्वास्थ्यप्रति चासो देखाउँदै यस्ता सामाजिक कार्यले प्रवासमा रहेका नेपालीहरूलाई ठूलो राहत पुग्ने बताउनुभयो। कार्यक्रममा अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का प्रतिनिधि अमिश कार्की, एनआरएनए आईसीसी सचिव सुजन केसी, एनआरएनए कुवेतका अध्यक्षद्वय विकास बहादुर सिंह र दिलकुमार पाख्रिन लगायत विभिन्न सामाजिक एवं राजनीतिक संघ-संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।
आयोजक निरेम प्रोडक्सनले कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने अल मुल्ला एक्सचेन्ज, डाम्पा चौतारी ग्रुप, नमस्ते नेपाली रेस्टुरेन्ट, डीबी कलेक्सन, निरेम ट्राभल्स र यात्री समाज लगायतका संस्थाहरूप्रति विशेष आभार प्रकट गरेको छ। साथै, अहोरात्र खटिने चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक र सञ्चारकर्मीहरूलाई पनि धन्यवाद ज्ञापन गरिएको छ।
नेपाली समुदायको स्वास्थ्य सचेतना र हितलाई मध्यनजर गर्दै आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता आयोजक पक्षले व्यक्त गरेको छ। यस सफल शिविरले कुवेतमा रहेका नेपालीहरूबीच एकता र आपसी सहयोगको भावनालाई थप मजबुत बनाएको विश्वास लिइएको छ ।