कुवेत – कुवेतस्थित नेपाली राजदूतावासले कुवेत तथा ईराकमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ । मध्यपूर्वमा विकसित पछिल्लो सुरक्षा संवेदनशीलता र स्थानीय कानुनको परिपालना सुनिश्चित गर्न दूतावासले आफ्ना नागरिकहरूलाई सचेत रहन र आधिकारिक निर्देशनहरूको पालना गर्न आग्रह गरेको हो।
राजदूतावासद्वारा जारी सात बुँदे निर्देशनमा मुख्यतया अफवाहबाट बच्न र सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न जोड दिइएको छ। दूतावासले कुवेत तथा ईराकका आधिकारिक निकायहरूबाट प्रेषित हुने समाचार र सूचनाहरूलाई मात्र आधार मान्न र अपुष्ट हल्लाहरूको पछि नलाग्न अनुरोध गरेको छ। विशेषगरी, सामाजिक सञ्जालमा कुनै पनि भ्रमपूर्ण वा अफवाह फैलाउने किसिमका सामग्रीहरू साझा (Share) नगर्न सचेत गराइएको छ।
सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै कुवेत सरकारले जारी गरेका नियमहरूको पूर्ण पालना गर्न दूतावासले विशेष आग्रह गरेको छ। सूचनामा भनिएको छ, "आकाशमा देखिने कुनै पनि हवाई आक्रमण वा प्रतिरक्षाका घटनाहरू तथा घटनास्थलको तस्बिर वा भिडियो खिच्ने र सामाजिक सञ्जालमा साझा गर्ने कार्य पूर्ण रूपमा वर्जित छ।" यस्ता गतिविधिले सुरक्षा जोखिम बढाउनुका साथै स्थानीय कानुनको उल्लंघन हुने भएकाले यसप्रति गम्भीर हुन नेपाली समुदायलाई आग्रह गरिएको छ।
व्यक्तिगत सुरक्षाका लागि दूतावासले केही महत्वपूर्ण सुझावहरू समेत दिएको छ। कुनै पनि अपरिचित वा शंकास्पद वस्तु देखिएमा त्यसको नजिक नजान र साइरन बजेको अवस्थामा विशेष सावधानी अपनाउन भनिएको छ। साइरन बजेको बेला यदि घर वा कार्यस्थल बाहिर भएमा तुरुन्तै नजिकैको भवनभित्र जान र भवनभित्रै भएको अवस्थामा सिसा, झ्याल वा बार्दलीबाट टाढा सुरक्षित स्थानमा बस्न निर्देशित गरिएको छ।
कुवेतमा रहेका नेपाली नागरिकहरूलाई कुनै पनि कन्सुलर सेवा वा अन्य आपतकालीन सहयोग आवश्यक परेमा नेपाली राजदूतावासमा सम्पर्क गर्न सकिनेछ। राजदूतावासले आफ्ना सम्पर्क नम्बरहरू सार्वजनिक गर्दै सहयोगका लागि तत्पर रहेको जनाएको छ। सम्पर्कका लागि महत्वपूर्ण नम्बरहरू: नेपाली राजदूतावास, कुवेत:+९६५-२५३२१६०३/४/५, प्रहरी/आगजनी/एम्बुलेन्स (कुवेत):११२
त्यस्तै दूतावासले सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई संयमित रहन, स्थानीय नियमको कदर गर्न र आफ्नो सुरक्षालाई प्राथमिकता दिन अपिल गरेको छ।