Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतबाट बिदा हुँदै तृतीय सचिव नविन पराजुली: पत्रकार महासंघ र निरेम प्रोडक्सनद्वारा भव्य बिदाइ

कुवेतबाट बिदा हुँदै तृतीय सचिव नविन पराजुली: पत्रकार महासंघ र निरेम प्रोडक्सनद्वारा भव्य बिदाइ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २, २०८३ शनिवार • ११:३१:४२ बजे
  • 970
    SHARES
  • कुवेतबाट बिदा हुँदै तृतीय सचिव नविन पराजुली: पत्रकार महासंघ र निरेम प्रोडक्सनद्वारा भव्य बिदाइ

    कुवेत - नेपाली राजदूतावास कुवेतमा आफ्नो सफल कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नुभएका तृतीय सचिव नविन पराजुलीलाई नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत र निरेम प्रोडक्सन प्रा.लि.ले एक विशेष कार्यक्रमका बीच हार्दिक बिदाइ तथा सम्मान गरेका छन्। कूटनीतिक मर्यादा र सामाजिक उत्तरदायित्वबीच समन्वय गर्दै नेपाली समुदायको हितमा पुर्‍याएको योगदानको कदर गर्दै सो सम्मान अर्पण गरिएको हो।

    images

    बिदाइ कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष एकराज मल्लले तृतीय सचिव पराजुलीको कार्यकालको उच्च प्रशंसा गर्नुभयो। अध्यक्ष मल्लले पराजुलीले कुवेतमा रहँदा केवल सरकारी प्रतिनिधि मात्र नभई, समस्यामा परेका नेपाली श्रमिकहरूको सच्चा अभिभावकको रूपमा भूमिका निर्वाह गरेको बताउनुभयो। उहाँले भन्नुभयो, "पराजुलीले नेपाली श्रमिक तथा समुदायका समस्या, पीडा र आवश्यकतालाई आफ्नै सम्झेर जुनसुकै परिस्थितिमा पनि देखाउनुभएको सक्रियता र समर्पण कुवेतवासी नेपालीहरूको मनमा सदैव रहनेछ।"

    महासंघले पराजुलीको कूटनीतिक कुशलता र स्थानीय नेपाली समुदायसँगको सुमधुर सहकार्यलाई कदर गर्दै सम्मान पत्र र मायाको चिनो प्रदान गरेको थियो। यसैगरी, सोही अवसरमा निरेम प्रोडक्सन प्रा.लि.का तर्फबाट पनि तृतीय सचिव पराजुलीलाई विशेष सम्मान गरिएको थियो। संस्थाका प्रतिनिधिहरूले उहाँलाई दोसल्ला ओढाएर र मायाको चिनो प्रदान गर्दै सम्मानपूर्ण बिदाइ गरे। निरेम प्रोडक्सनले कुवेतमा नेपाली कला, संस्कृति र सञ्चारको क्षेत्रमा पराजुलीले पुर्‍याएको रचनात्मक सहयोगको स्मरण गरेको थियो।

    नेपाल पत्रकार महासंघ कुवेत शाखाका प्रतिनिधिहरू तथा स्थानीय सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागीहरूले पराजुलीको सहयोगी भावनाको चर्चा गरे। वैदेशिक रोजगारीको सिलसिलामा समस्यामा परेका नेपालीहरूलाई कानुनी र प्रशासनिक सहजता प्रदान गर्न उहाँले निर्वाह गरेको भूमिकालाई कूटनीतिक क्षेत्रकै एक सकारात्मक उदाहरणका रूपमा लिइएको छ।

    कार्यक्रमको समापनमा तृतीय सचिव पराजुलीले आफूलाई प्रदान गरिएको सम्मानप्रति आभार व्यक्त गर्दै कुवेतमा रहँदा नेपाली समुदाय र सञ्चारकर्मीहरूबाट प्राप्त सहयोगले आफ्नो कार्यसम्पादनमा ठूलो मद्दत पुगेको बताउनुभयो। सुखद स्वदेश फिर्तीको कामनासहित सम्पन्न सो कार्यक्रमले कूटनीतिक निकाय र प्रवासमा रहेका सामाजिक संघ-संस्थाहरूबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्ने सन्देश दिएको छ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology