कुवेतको उत्तरी क्षेत्रमा भएको एक ड्रोन आक्रमणमा परी सवारी चालकका रूपमा कार्यरत एक नेपाली नागरिकको दुःखद निधन भएको छ । तेह्रथुम जिल्ला स्थायी घर भएका ४४ वर्षीय सोम कुमार तामाङ निधन भएको हो ।
कुवेतको परराष्ट्र मन्त्रालयले आधिकारिक रूपमा उक्त घटना र तामाङको निधनको पुष्टि गर्दै नेपाली राजदूतावासलाई जानकारी गराएको हो। नेपाली राजदूतावास, कुवेतले विज्ञप्ति जारी गर्दै तामाङको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। दूतावासले दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै यस कठिन घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
घटनापश्चात् स्व. तामाङको पार्थिव शरीरलाई यथाशीघ्र स्वदेश फिर्ता पठाउने प्रक्रिया अगाडि बढाइएको छ। दूतावासका अनुसार कुवेतका सम्बन्धित सरकारी निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गर्दै कानुनी तथा प्रशासनिक प्रक्रियाहरू चाँडो भन्दा चाँडो सम्पन्न गरी शव नेपाल पठाउने प्रबन्ध मिलाइनेछ।
उत्तरी क्षेत्रमा भएको यस घटना र विकसित संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै राजदूतावासले कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूका लागि सुरक्षा सतर्कता सम्बन्धी विशेष अपिल जारी गरेको छ। दूतावासले कुवेत सरकारद्वारा समय-समयमा जारी गरिएका सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड तथा निर्देशनहरूको पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।