कुवेत - नेपाल पत्रकार महासंघ कुवेत शाखाको १७औं स्थापना दिवसको अवसरमा आयोजना हुन गइरहेको तेस्रो रक्तदान कार्यक्रम तथा चौथो माधव शाही स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहको सम्पूर्ण तयारी पूरा भएको छ। सामाजिक उत्तरदायित्व र पत्रकारिताको प्रवर्द्धनलाई सँगसँगै लैजाने उद्देश्यले आयोजना गर्न लागिएको यस कार्यक्रममा सहभागी हुन महासंघले कुवेतस्थित सम्पूर्ण नेपाली समुदायलाई हार्दिक आह्वान गरेको छ।
महासंघका अध्यक्ष राज मल्लका अनुसार कार्यक्रमको सफल व्यवस्थापनका लागि सम्पूर्ण आन्तरिक तयारी पूरा भइसकेको छ। अध्यक्ष मल्लले महासंघका पदाधिकारी, सदस्यहरू, सल्लाहकार तथा कुवेतमा रहेका सम्पूर्ण नेपाली शुभेच्छुकहरूलाई आगामी शुक्रवार दिउँसो १२:४५ बजे जाब्रियास्थित ब्लड बैंक (Jabriya Blood Bank) मा समयमै उपस्थित भई कार्यक्रमलाई भव्य रूपमा सफल पारिदिनुहुन अनुरोध गरेका छन्।
यस वर्षको कार्यक्रममा नेपालबाट विशेष अतिथिका रूपमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय महासचिव रोशन पुरी तथा नेपाल पत्रकार महासंघ वैदेशिक शाखा (यूएई) का अध्यक्ष मेघराज सापकोटाको उपस्थिति रहने महासंघले जनाएको छ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा 'चौथो माधव शाही स्मृति पत्रकारिता पुरस्कार' वितरण समारोह रहनेछ। पत्रकारिताको क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै महासंघले प्रत्येक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा एक जना पत्रकारलाई यो पुरस्कारबाट सम्मानित गर्दै आएको छ।
"रक्तदान जीवनदान" भन्ने मूल सन्देशका साथ आयोजना गरिएको यस रक्तदान कार्यक्रमले कुवेतमा रहेका नेपालीहरूबीच भ्रातृत्व, मानवीय संवेदना र सामाजिक दायित्वको भावनालाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ। मानव जीवन बचाउने जस्तो पवित्र र पुण्य कार्यमा सक्रिय सहभागिता जनाएर कार्यक्रमलाई ऐतिहासिक बनाउन महासंघले कुवेतमा क्रियाशील नेपाली सङ्घ-संस्था, बुद्धिजीवी, समाजसेवी तथा आम नेपाली नागरिकहरूमा विशेष अपिल गरेको छ।
प्रवासको भूमिमा रहेर पनि नेपाली पत्रकारिताको प्रवर्द्धनका साथै मानवीय र सामाजिक सेवामा नेपाल पत्रकार महासंघ कुवेतले निर्वाह गर्दै आएको यो भूमिका प्रशंसनीय रहेको छ।