कुवेत - वैदेशिक रोजगारीका क्रममा घरेलु कामदारका रुपमा कुवेत पुगेकी पूजा तामाङ विगत ६ महिनादेखि सम्पर्कविहीन भएकी छिन । झापा बुद्धशान्ति गाउँपालिका–४ की तामाङ सम्पर्कविहीन भएपछि स्थानीय वडा कार्यालयले कुवेतस्थित नेपाली राजदूतावासलाई उद्धारका लागि औपचारिक अनुरोध गरेको छ ।
प्राप्त विवरण अनुसार, करिब १० महिनाअघि घरेलु कामदारका रूपमा कुवेत पुगेकी पूजा विगत ६ महिनादेखि परिवारसँग पूर्ण रूपमा सम्पर्कविहीन छिन्। लामो समयसम्म कुनै खबर नआएपछि चिन्तित बनेको परिवारले खोजी तथा उद्धारका लागि वडा कार्यालयमा निवेदन दिएको थियो। सोही निवेदनका आधारमा बुद्धशान्ति गाउँपालिका–४ वडा कार्यालयले नेपाली राजदूतावास कुवेतलाई पत्राचार गर्दै पूजाको खोजी र सकुशल उद्धारका लागि आवश्यक कूटनीतिक पहल गरिदिन आग्रह गरेको हो।
उक्त पत्रको बोधार्थ गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी कुवेत र नेपाल पत्रकार महासंघ कुवेत शाखालाई समेत दिइएको छ। वडा कार्यालय तथा परिवारले पूजाका बारेमा कुनै जानकारी भएमा वा उनीसँग सम्पर्कमा रहेका जोकोहीले नजिकको नेपाली राजदूतावास वा परिवारलाई खबर गरिदिन सार्वजनिक अपिल गरेका छन्।

यस घटनाले वैदेशिक रोजगारीमा जाँदा अपनाइने कानुनी प्रक्रिया र त्यसको महत्त्वलाई पुनः उजागर गरेको छ। वैदेशिक रोजगारीका क्षेत्रमा कार्यरत विज्ञ तथा सम्बन्धित निकायहरूका अनुसार, सरकारले तोकेको कानुनी प्रक्रिया पूरा नगरी वा प्रतिबन्धित र अवैधानिक बाटोबाट घरेलु कामदारका रूपमा जाँदा कामदारहरू ठूलो जोखिममा पर्ने सम्भावना रहन्छ।
अवैध वा श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा जाँदा कुनै समस्या परेको खण्डमा उद्धार, कानुनी सहायता तथा अन्य सरकारी सेवा-सुविधा प्राप्त गर्न जटिलता उत्पन्न हुने गर्छ। त्यसैले, वैदेशिक रोजगारीमा जाने प्रत्येक नागरिकले तोकिएको कानुनी प्रक्रिया पूरा गरी अनिवार्य रूपमा श्रम स्वीकृति लिएर मात्र प्रस्थान गर्न सम्बन्धित निकायहरूले ध्यानाकर्षण गराएका छन्। हाल पूजा तामाङको खोजतलास र शीघ्र उद्धारका लागि कूटनीतिक तथा सामाजिक सञ्जालमार्फत प्रयासहरू भइरहेका छन्।