आफ्नो जलक्षेत्रमा विगत केही दशकयता फारसको खाडी र आसपासका समुद्री क्षेत्रमा तेल पोखिएर भएको वातावरणीय क्षतिको इरानले क्षतिपूर्ति मागेको छ ।
स्ट्रेट अफ होर्मुज भएर व्यापारिक पानी जहाज चलाएर लाभ लिने सबै पक्षमाथि फारसको खाडी र ओमानको समुद्रमा भएको वातावरणीय क्षति न्यूनीकरण तथा पुनर्स्थापना गर्ने कानुनी र नैतिक दायित्व रहेको इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बताए ।
बुधबार स्टेट अफ होर्मुज नजिकै इरानको क्यूशम द्वीपको एउटा समुद्री किनारमा तेलको बाक्लो लेदो बगेको देखिएको थियो । उक्त घटनालाई इरानले खाडी क्षेत्रमा दशकौँदेखि भइरहेको व्यापक समुद्री प्रदूषणको एउटा देखिने उदाहरणका रूपमा पेस गरेको छ ।
बघाईका अनुसार फारसको खाडी र ओमानको समुद्रमा भएको प्रदूषणले समुद्री पारिस्थितिक प्रणालीमा गम्भीर असर पारेको छ । ‘यो घटना व्यापक प्रदूषणको देख्न सकिने उदाहरण एउटा मात्रै हो– खुला र लुकेको दुवै– जसले हालैका दशकहरूमा फारसी खाडी र ओमान सागरको पानीको साथै यस क्षेत्रको समुद्री पारिस्थितिक प्रणालीलाई खत्तम बनाएको छ, यसले इरानको तटीय क्षेत्रहरूमा दशौं खर्बौ डलरको क्षति पुर्याएको छ,’ बकाईले भने ।
यसबाट इरानका तटीय क्षेत्रमा भएको क्षति खर्बौँ डलर बराबर रहेको दाबी गर्दै यसको क्षतिपूर्ति कसले व्यहोर्ने भन्ने प्रश्न पनि उनले उठाए । सस्तो ऊर्जा उपभोग गर्ने देशहरू, पानीजहाजका बीमा कम्पनीहरू वा फारसको खाडी तथा ओमानको समुद्रलाई सैन्य गतिविधि र शक्तिशाली हतियारको परीक्षणस्थल बनाउने आक्रमणकारी तथा तिनका साझेदारमध्ये कसले क्षतिको जिम्मेवारी लिने भन्ने प्रश्न पनि बकाईले गरे ।
यसैबिच, ओमानको वातावरण प्राधिकरणले रुसी कच्चा तेल बोकेको प्रतिबन्धित ट्याङ्करबाट भएको तेल चुहावट देशको दक्षिणपूर्वी क्षेत्रमा रहेको रास मद्राकाहका केही समुद्री किनारसम्म पुगेको जनाएको छ ।