कुवेत - वैदेशिक रोजगारीका क्रममा कुवेतमा ज्यान गुमाएका तथा घाइते भएका नेपाली नागरिकहरूका लागि करिब १४ करोड ५० लाख रूपैयाँ बराबरको क्षतिपूर्ति रकम प्राप्त भएको छ। कुवेतस्थित नेपाली राजदूतावासको निरन्तर पहल र कानुनी सहयोगमा आर्थिक वर्ष २०८२/०८३ मा जम्मा ३,०७,१४६.३१७ कुवेती दिनार (तीन लाख सात हजार एक सय छयालीस दिनार र तीन सय सत्र फिल्स) रकम संकलन भएको हो ।
उक्त रकम सम्बन्धित मृतकका परिवार तथा घाइते नेपालीहरूको कानुनी हकदारहरूलाई हस्तान्तरण गर्ने प्रयोजनका लागि राजदूतावासबाट नेपाल सरकार, परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागमा पठाइसकिएको छ।
विगतका वर्षहरूमा कुवेतमा विभिन्न दुर्घटना वा अन्य कारणवश ज्यान गुमाएका र अङ्गभङ्ग वा घाइते भएका नेपाली श्रमिकहरूको हक अधिकार र उचित क्षतिपूर्ति प्राप्तिका लागि राजदूतावासले स्थानीय कानुन व्यवसायीको मद्दत लिएर आवश्यक कानुनी कारबाही अगाडि बढाएको थियो। दूतावासको निरन्तरको प्रयत्नपछि प्राप्त भएको सो रकममा विभिन्न शीर्षकका भुक्तानीहरू समावेश छन्।
राजदूतावासका अनुसार संकलित रकममा क्षतिपूर्ति बापतको बिमा रकम, श्रमिकहरूको बाँकी रहेको तलब, सेवा बापत पाउनुपर्ने उपदान तथा सम्बन्धित रोजगारदाता कम्पनीहरूबाट प्राप्त सहयोग एवं मानवीय सहायता रकम रहेको छ। यो रकम विभिन्न समयमा चरणबद्ध रूपमा कन्सुलर सेवा विभागमा पठाइएको र विभागमार्फत प्रक्रिया पुर्याएर हकदारहरूको बैंक खातामा हस्तान्तरण गरिनेछ।
वैदेशिक रोजगारीका क्रममा खाडी मुलुकहरूमा श्रमिकहरूले भोग्नुपर्ने कानुनी जटिलता र भाषागत समस्याका कारण कतिपय अवस्थामा पीडितहरूले समयमा क्षतिपूर्ति पाउन सकिरहेका हुँदैनन्। यस्तो परिस्थितिमा नियोग आफैंले कानुनी व्यवसायी नियुक्त गरी पीडितको पक्षमा बहस र पैरवी गर्नुलाई सकारात्मक र सराहनीय कदमको रूपमा हेरिएको छ।
राजदूतावासको यस सक्रियताले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको हकहित र सुरक्षामा ठूलो योगदान पुर्याएको छ। साथै, आफ्ना कमाउने अभिभावक वा सदस्य गुमाएर आर्थिक संकटमा परेका पीडित परिवारहरूका लागि यो रकमले ठूलो राहत र सहारा प्रदान गर्ने अपेक्षा गरिएको छ।




