कुवेत - कुवेतस्थित नेपाली राजदूतावासले रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण ज्यान गुमाएका दिवङ्गत आत्माहरूको स्मृतिमा समवेदना पुस्तिका खुला गर्ने भएको छ । गत भाद्र १० गते बिहान गएको उक्त दुखद् प्राकृतिक विपत्तिमा परी जीवन गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नका लागि भोलि २०८३ भाद्र १८ गते बिहीबार राजदूतावासमा उक्त पुस्तिका खुला गर्न लागिएको हो।
राजदूतावासद्वारा जारी आधिकारिक सूचना अनुसार समवेदना प्रकट गर्न इच्छुक व्यक्तिहरूका लागि बिहीबार दिउँसो १:०० बजेदेखि ४:०० बजेसम्मको समय निर्धारण गरिएको छ। उक्त समयभित्र राजदूतावास परिसरमा उपस्थित भई समवेदना पुस्तिकामा हस्ताक्षर गर्दै दिवङ्गत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनप्रति सहानुभूति प्रकट गर्न सकिनेछ।
भाद्र १० गते भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले स्थानीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो। प्राकृतिक प्रकोपको यस कठिन घडीमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरू मर्माहत भएका छन्। विदेशमा रहेका नेपाली समुदायलाई आफ्ना दिवङ्गत दाजुभाइ तथा दिदीबहिनीहरूप्रति सम्मान व्यक्त गर्ने अवसर प्रदान गर्न राजदूतावासले यो विशेष व्यवस्था गरेको हो।
दूतावासले जारी गरेको सूचनामा भनिएको छ, "विपद्का कारण ज्यान गुमाउनुभएका दिवङ्गत आत्माहरूको स्मृतिमा समवेदना प्रकट गर्न इच्छुक सम्पूर्ण नेपाली नागरिकहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।"

प्राकृतिक विपत्तिको यस दुखद् अवस्थामा प्रवासमा रहेका नेपाली नागरिकहरूलाई एकताबद्ध भई जुध्न र दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा ढाडस दिनका लागि तोकिएको समयमा राजदूतावास उपस्थित भई समवेदना व्यक्त गर्न अनुरोध गरिएको छ।