Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल र कुवेतबीच द्विपक्षीय हित र बाढी राहतबारे छलफल: कुवेतले नेपाललाई सहयोग गर्न तयार

नेपाल र कुवेतबीच द्विपक्षीय हित र बाढी राहतबारे छलफल: कुवेतले नेपाललाई सहयोग गर्न तयार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २२, २०८३ सोमवार • १३:२४:४९ बजे
  • 859
    SHARES
  • नेपाल र कुवेतबीच द्विपक्षीय हित र बाढी राहतबारे छलफल: कुवेतले नेपाललाई सहयोग गर्न तयार

    कुवेत सिटी - कुवेतका लागि नेपाली राजदूत महामहिम घनश्याम लम्सालले कुवेतका एसियाली मामिला हेर्ने सहायक विदेशमन्त्री महामहिम नवाफ अब्दुललतिफ सुलेमान अल-अहमद (H.E. Nawaf Abdullatif Sulaiman Al-Ahmed) सँग भेट गरी नेपाल र कुवेतबीचको द्विपक्षीय हित तथा हालै नेपालमा गएको प्राकृतिक विपद्का विषयमा छलफल गर्नुभएको छ। २०८३ भाद्र २१ गते आइतबारका दिन भएको उक्त भेटवार्तामा दुई देशबीचको विद्यमान मैत्रीपूर्ण सम्बन्धका विभिन्न आयामबारे समीक्षा गरिएको थियो।

    images

    भेटका क्रममा राजदूत लम्सालले गत भाद्र १० गते नेपालको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी, त्यसबाट भएको अपूरणीय जनधनको क्षति तथा भौतिक संरचनामा पुगेको असरबारे जानकारी गराउनुभएको थियो। साथै, उहाँले विपद्लगत्तै नेपाल सरकारका तर्फबाट द्रुत रूपमा भइरहेका खोज, उद्धार तथा राहत वितरणका प्रयासहरूबारे पनि प्रकाश पार्नुभएको थियो।

    भोटेकोशी बाढीको विनाशकारी असर र जनधनको क्षतिप्रति कुवेतका सहायक विदेशमन्त्री महामहिम नवाफले गहिरो दुःख व्यक्त गर्नुभयो। उहाँले यस संकटको घडीमा नेपाल सरकार र नेपाली जनताप्रति सहानुभूति प्रकट गर्दै बाढी पीडितहरूको उद्धार र राहतका लागि कुवेत सरकारका तर्फबाट आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउन तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो।

    नेपाल र कुवेतबीच लामो समयदेखि सौहार्दपूर्ण कूटनीतिक सम्बन्ध रहँदै आएको छ। विपद्को समयमा कुवेत सरकारले देखाएको यो मानवीय तत्परता र सहयोगको प्रतिवद्धताले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै आगामी दिनमा विपद् व्यवस्थापन र द्विपक्षीय सहयोगका क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology