कुवेत, १३ अक्टोबर (२०२६) - नेपालमा गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपहिरोबाट प्रभावित परिवारको सहयोगार्थ गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कुवेतले कुल ६ लाख ७७ हजार २७४ रुपैयाँ बराबरको राहत रकम संकलन गरी नेपाल पठाएको छ।
कुवेतस्थित नेपाली समुदायका ८८ जना दाताको आर्थिक सहयोगबाट संकलित यो रकम १ हजार ५७८ कुवेती दिनार बराबर रहेको एनआरएनए कुवेतले जनाएको छ।

संकलित राहत रकम दुई भागमा विभाजन गरी पठाइएको छ । त्यसअनुसार २०७ कुवेती दिनार नेपाली राजदूतावास कुवेतमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ भने बाँकी १ हजार ३७१ कुवेती दिनार एनआरएनएको केन्द्रीय खातामा पठाइएको संघले जनाएको छ।

संकलित राहत रकम बाढीपहिरो प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि परिचालन गरिने बताइएको छ।
एनआरएनए कुवेतका अध्यक्ष मानबहादुर तामाङ (दिल) ले राहत अभियानमा सहयोग गर्ने सम्पूर्ण दाताप्रति आभार व्यक्त गरेका छन् । उनले विपद्मा परेका नेपाली परिवारलाई सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा सहभागी सबैको योगदानले मातृभूमिप्रतिको जिम्मेवारी र मानवीय एकताको भावना प्रकट गरेको बताएका छन्।
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपहिरोले त्यस क्षेत्रमा गम्भीर क्षति पुर्याएको थियो। त्यस घटनामा परी नेपाल तथा विदेशी नागरिकसहित धेरै परिवार विस्थापित र प्रभावित भएका थिए। यस्तो विपद्का बेला विदेशमा रहेका नेपालीहरूले मातृभूमि र स्वदेशवासीप्रति ऐक्यबद्धता जनाउने क्रम निरन्तर रहँदै आएको छ।
एनआरएनए कुवेतको यो पहलले विदेशमा काम गरिरहेका नेपालीहरू पनि देशको विपद् व्यवस्थापन र पीडितको सहयोगमा महत्वपूर्ण भूमिका खेल्न सक्ने प्रमाणित गरेको छ। यस्ता राहत अभियानले प्रवासी नेपाली समुदाय र स्वदेशबीको सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।