यूरोप/ नेपाल पत्रकार महासंघ युरोप शाखाले कार्यवाहक महासचिवको जिम्मेवारी सचिव द्रोण रिजाललाई दिएको छ । युरोप शाखाका तत्कालिन महासचिव योगेन्द्र मिलन छन्त्याल स्थान्तरण भई प्रस्तावित पोर्तुगत शाखामा संयोजक भएपछि रिक्त रहेको पद रिजाललाई आइतबारको बैठकले दिएको हो । रिजाल प्रेस युनियन युरोपमा समेत आवद्ध छन ।

नोभेम्बर ८ आइतबार अध्यक्ष केजिन राईको अध्यक्षतामा बसेको भर्चुअल जुम बैठकले नेपाल पत्रकार महासंघ केन्द्रले युरोप शाखाबाट पोर्चुगल तदर्थ शाखामा स्थानन्तरण भैसकेका तत्कालिन महासचिव छन्त्याल र सचिव पेम्बागेलु शेर्पा र बेल्जियम तदर्थ शाखामा स्थानन्तरण भएका वरिष्ठ उपाध्यक्ष डिल्लीराम अम्माइ, सल्लाहकार ओम शर्मा र सदस्य शेरवहादुर छन्त्याललाई युरोप शाखामा पुर्याउनु भएको योगदानको धन्यवाद दिदै विदाई गरेको छ ।
बैठकमा कार्यसमितिका २५ जनामध्ये १८ जनाको उपस्थिति थियो । ३ जनाले बैठक निर्णय उपर लिखित सहमति दिएकोले निर्णय उपर दुई तिहाईको समर्थन रहेको थियो, बैठक ४ जना अनुपस्थित रहेको शाखाले जनाएको छ ।
बैठकको पछि जारी विज्ञप्तिमा भनिएको छ, "महासंघ युरोप शाखाको नाम, छाप र लेटरप्याडको अनधिकृत प्रयोग गरि गत शनिवार पत्रकार डिल्लीराम अम्माइ र योगेन्द्र मिलन छन्त्यालद्वारा जारी गरिएको विज्ञप्ति कपोकल्पित, झुटो, नक्कली र अवैध रहेको ठहर गर्दै त्यसलाई खारेज गरेको छ ।"
त्यस्तै, युरोप शाखाको सचिव पदबाट वसन्त रानाभाट र सदस्य पदबाट भोला लामिछाने दिएको राजीनालाई स्वीकृत गरेको छ । दुवैले १५ अप्रिल २०२० मा स्वेच्छाले राजीनामा दिएका थिए ।
शाखाले कोरोना संक्रमण र समसामयिक विषयमा संचालन गरिरहेको अन्तरक्रिया र शृङ्खलालाई जारी राख्ने निर्णय गरेको छ ।