एजेन्सी । अमेरिकाका शीर्ष सङ्क्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले क्रिसमसपछि कोरोना संक्रमणको अर्को महामारी फैलने चेतावनी दिएका छन्।
अमेरिकामा अहिले चलिरहेको थ्याङ्सगिभिङ पर्वपछि नै बढ्न थालेका सङ्क्रमण ठूलो समस्या बनिरहेको छ।उनले लामो क्रिसमस र नयाँ वर्षको छुट्टिको समय थप चुनौति बन्न सक्ने बताएका हुन्।
डा. फाउचीले जनवरीको मध्यतिरको अवस्था अमेरिकाका लागि निकै भयानक समय हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
थ्याङ्सगिभिङका बेला यात्रा नगर्न विज्ञहरूले गरेको आग्रहलाई दशौँ लाखले टेरेका थिएनन्।
अमेरिकामा सङ्क्रमण एउटा उच्च विन्दु पछ्याउँदै औसतमा दैनिक दुई लाख पुग्ने क्रममा छ।
अस्पतालहरू कोरोनाभाइरसका बिरामीले भरिन थालेपछि अमेरिकाका दुई ठूला राज्यहरू क्यालिफोर्निया र न्यूयोर्कले खराब जनस्वास्थ्य सङ्कटको चेतावनी दिएका छन्।
न्यूयोर्कका गभर्नर एन्ड्रिउ कुमोले त्यस्तो अवस्थासँग जुझ्न थप प्रतिबन्धहरू लगाउनुपर्ने बताएका छन्।क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजोमले अस्पतालहरू भरिभराउ भएर खतराको तहमा पुगेको भन्दै मानिसहरूलाई सजग गराएका छन्।
क्यालिफोर्निया राज्य कडा लकडाउनमा गएको छ भने अन्य राज्यहरूमा समेत अहिलेसम्मकै उच्च सङ्क्रमण देखिन थालेका छन्।अहिलेसम्म अमेरिकामा १ करोड ४७ लाखभन्दा बढी सङ्क्रमणका घटना पुष्टि भएका छन् भने २ लाख ८२ हजार पाँच सयको मृत्यु भएको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको विवरणअनुसार यी दुवै सङ्ख्या विश्वकै उच्च हुन्।
आइतवार अमेरिकाको खाद्य तथा औषधि निकाय एफडीएका पूर्वआयुक्त स्कट गोटलिबले जनवरीको अन्त्यसम्ममा अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या चार लाख नजिक पुग्न सक्ने बताएको बिबिसीमा प्रकाशित छ ।