नेपाली राजदूतावास कुवेतमा कार्यरत श्रम सहचारीको अल्पायुमै निधन भएको छ । रक्त क्यान्सरबाट पिडित श्रम सहचारी विपना ज्ञवालीको गत शुक्रबार अस्पतालमा उपचारको त्रममा निधन भएको दूतावासले जनाएको छ ।
ज्ञवाली लामो समयदेखि क्यान्सर रोगसँग जुधिरहेकी थिइन् । अघिल्लो बुधबारदेखि उनलाई रोगले गम्भीर रूपमा च्यापेको थियो । स्वास्थ्यमा समस्या देखिए पछि ज्ञवालीले शुरूमा राजदूतावास नजिकै रहेको मुवारक अलकबीर अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) परिक्षण गराएकी थिइन् । तर रिपोर्ट नेगेटिभ आएको थियो । त्यसपछि उनलाई मुवारक अस्पतालले शेख अल वर्दिस क्यान्सर अस्पतालमा रिफर गरेको थियो ।
तीन महिना अघि उनीसंगै कुवेत गएकी उनकी आमा गत शुक्रबार बिहान मात्र नेपाल फर्केकी थिइन् । गुल्मीको चिदिका घर भएकी २८ बर्षिया ज्ञवाली तिन महिना पहिले मात्र प्रतिस्पर्धामा श्रम सहचारीमा छनोट भएर कुवेत पुगेकी गएकी थिइन । ज्ञवाली अविवाहित हुन् ।
तत्कालीन श्रम सहचारी ज्ञानेन्द्र शर्मा नेपाल फर्केकै दिन ज्ञवाली कार्यस्थल पुगेकी थिइन । छोटो समयमै कुवेतमा कार्यरत नेपाली श्रमिकको हक, हित र अधिकारका लागि सकारात्मक कार्यहरु गरेर नेपाली समाजमा परिचित श्रम सहचारी विपना ज्ञवालीको निधन प्रति कुवेतमा रहेका नेपाली राजदूतावास, एनआरएनए कुवेत, नेपाली संघसंस्था लगायत कुवेतमा कार्यरत नेपालीहरुले दुख व्यक्त गरेका छन् । अल्पायुमै ज्यान गुमाएकी ज्ञवालीको शव कुवेतको जजिरा एयरलाइन्समार्फत आजै नेपाल आईपुग्ने दूतावासले बताएको छ ।
