उखुको भुक्तानी नपाएपछि काठमाडौंस्थित माइतीघरमा आन्दोलन गरेका एक कृषकको मृत्यु भएको छ।रौतहटको धनकौल गाउँपालिका छोटौलका नारायण राय यादवको शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारीमा उपचारका क्रममा मृत्यु भएको हो।
उनको हृदयघातले मंगलबार मृत्यु भएको उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले जानकारी दिए। मिश्रका अनुसार यादवले अन्नपूर्ण चिनी मिलसँग २४ लाख ६३ हजार रुपैयाँ बक्यौता उठाउन बाँकी थियो। उनीसँगै काठमाडौँ आएका किसानका अनुसार उनले विभिन्न व्यक्तिबाट १८ लाख ऋण लिएको र तिर्न नसकेको बताउने गरेका थिए।
झण्डै ९० करोड भुक्तानी नपाएको भन्दै उखु कृषक मंसिर २८ देखि आन्दोलनरत थिए। सोमबार सरकारले किसानसँग गरेको वार्तामा २१ दिनभित्र भुक्तानी दिलाउनेसहितका ४ बुँदे सहमतिपछि कृषकहरूको आन्दोलन स्थगित भएको थियो।