नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रमा दुई खेमामा विभाजित भएसँगै प्रवासमा पनि त्यसको असर देखिन थालेको छ । सोही क्रममा कतिपय देशका समितिमा एकले अर्कालाई कार्वाही गर्ने गरेको पनि छ्न । अहिले दुई धार भएर देखा परेको समितिहरु भोलि एक हुनसक्छ्न या अब नेकपाको प्रवास समिति अलग भएर नै अगाडि बढ्ने हुन : यिनै विषयमा केन्द्रित रहेर नेकपा केन्द्रीय सदस्य तथा प्रवास समन्वय समितिका अध्यक्ष युवराज चौलागाईं संग मयूरपाटीको लागी पुर्ण बिक (पहाडी) ले गरेको संक्षिप्त कुराकानी प्रस्तुत छ,
उहाँसँग गरिएको कुराकानीको अंश :
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रमा देखिएको शक्ति संघर्षको परिणाम प्रवासमा पनि देखिन थाल्यो, यसले कस्तो असर पर्ला ?
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) देश भित्र मात्र होइन, देश बाहिर बस्ने नेपालीहरुका बीचमा पनि बलियो संगठनात्मक आधार भएको पार्टी हो । हाल नेकपा भित्रबाट शुरु भएर देशमा बिकसित घटनाक्रमले प्रबासमा रहेका पार्टी समर्थक र शुभेच्छुक नेपालीहरुलाई निकै चिन्तित र गंभीर तुल्याएको मैंले पाएको छु । नेपालका बहुसंख्यक न्यायप्रेमी, शोषित पीडित र बिकासप्रेमी जनसमुदायले नेकपाको उदयलाई जुन अपेक्षा र बिश्वासका साथ हेरिरहेका थिए, त्यस प्रति गंभीर घात भएको अनुभूति प्रबासी नेपालीहरुले गरिरहेको मेरो बुझाई छ । आज नेकपा राजनैतिक हुंदै संगठनात्मक रुपमा समेत जसरी तीक्तता पूर्ण विभाजनको अबस्थामा पुगेको छ, त्यसले स्वदेश वा बिदेशका संगठनहरुमा पक्कै पनि सकारात्मक असर त गर्दैन । यद्यपि, विभाजनको पक्षमा लाग्ने संख्या अत्यन्त सीमित छ, तर पनि एउटै सदस्य मात्र बाहिर निस्कदा, समानान्तर गतिबिधीमा लाग्दा वा निष्क्रिय बस्दा पनि संगठनलाई नोक्सान पुग्छ ।
अहिले प्रवासमा पनि एकले अर्को समुहलाई कार्वाही गर्ने क्रम बढेको छ । प्रवासको संगठन पनि अब अलग भएको हो ?
देश बिशेषको कुरा सामान्य तलमाथि हुन सक्ला, तर समग्र प्रबासमा नेकपाको बहुमत पक्ष अथवा संस्थापन पक्षमा रहने साथीहरुको संख्या अतुलनीय रुपमा बिशाल छ । पार्टीको प्रबास समन्वय कमिटी हुदैं राष्टिय कमिटीहरु र मातहतका सबै कमिटीहरुमा प्रचण्ड माधव नेपाल नेतृत्वको नेकपा पक्षमा व्यापक बहुमत छ । तर, बहुमत भएको पक्ष भएको हुनाले हामी जिम्मेवारीपूर्वक पेश हुदै आएका छौं । खासमा प्रबासको पार्टी कमिटी बिभिाजनमा जानु हुदैन भन्नेमा शुरुबाटै प्रष्ट थियो । त्यहि कारण हामीले सबै देशका कमिटीहरुको तर्फबाट सर्वसम्मत र संयुक्त रुपमा बिभाजन बिरुद्ध खबरदारी गरेका थियौं । हामीले पार्टी भित्रको बहसका पक्षधर उच्च नेताहरुलाई समेत संयुक्त रुपमा निम्त्याएर व्यबस्थित र स्वच्छ बहसको प्रयास गरेका थियौं । तर, बिभाजन बिरुद्धको हाम्रो गंभीर अनुरोध र खबरदारीको सुनुवाई गरिएन ।
"बालुवाटारको शक्तिको दुरुपयोग गर्दै हाल प्रबासका संगठनहरुलाई समेत तोडफोड गर्न मानिसहरु खटाइएको पाएका छौं । बिभाजनकारीहरुको तर्फबाट कतिपय ठाउंहरुमा अनधिकृत रुपमा नाम र लोगोको दुरुपयोग गरिएको पाएका छौं । बिना बहुमत, बिना आधिकारिक बैठक, बिना यथेष्ठ सूचना प्रबाह र बिना कुनै स्पष्ट कारण प्रबासमा नेपालीहरुक बीचमा प्रगतिशील ढंगले काम गरिरहेको नेतृत्वदायी संस्थालाई बिभाजन गर्नेहरुको मनसुवा समुदायको हित नभएर व्यक्तिगत लाभहानी मात्र हो भन्ने सहज आंकलन गर्न सकिन्छ । तसर्थ, प्रबासमा सानो झुण्डले सामान्य चुनौती खडा गर्ने मनोगत प्रयास गरिरहेको भएता पनि हामी बिना कुनै आग्रह आत्मालोचना सहित पुनः मूल संगठनमै फर्केर आउन अनुरोध गर्दछौं । अन्याथा, संगठन कठोर ढंगले सर्बस्विकृत बाटोबाटै अगाडी बढ्छ ।"
पार्टी विभाजन हुनुको मुख्य कारण के हो । भोलि फेरि पुन एकता हुने सम्भावना कत्तिको छ ?
नेकपा विभाजन हुनुका पछाडी दृश्य अदृश्य रुपमा अनेकौं कारणहरु हुन सक्दछन् । ती मध्ये कयौं समय क्रमसंगै उजागर पनि हुदै जालान् । तर, मेरो बिचारमा हाल नेकपा विभाजनका पछाडी दुई वटा प्रमुख कारणहरु छन् । ती हुन : पहिलो, केपी ओली प्रबृती र दोश्रो, भूराजनीतिक चलखेल । तत्कालीन अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री पदमा आसीन भए लगत्तै आफूलाई शाषक र अरुलाई रैती ठान्न थाल्नु भयो । पार्टी भित्र वहांले सहि ढंगले नेतृत्व दिन मात्र होइन, सामान्य व्यबस्थापन समेत गर्न सक्नु भएन । त्यत्रो जनसमर्थन प्राप्त नेता एउटा परंपरागत र अयोग्य गुटको घेराबाट माथि उठ्न चाहनु भएन, सक्नु भएन । केपी ओलीले पार्टीमा न सर्बसम्मती गराउन त्याग र उदाहरण पेश गर्न सक्नु भयो, त न पार्टी भित्रको बहुमतलाई सम्मान गर्न सक्नु भयो । वहां यति दम्भि र अहंकारी निक्लनु भयो कि आफूलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने, पार्टी अध्यक्षमा प्रस्ताव गर्ने, निरन्तर त्याग गरेर सहयोग गर्ने, पद होइन मान्यता स्थापित गर्न मेहनत गर्ने हरेक नेता कार्यकर्तालाई वहांले निरन्तर आक्रमण गरिरहनु भयो । सरकारलाई पार्टीले होइन, प्रधानमन्त्रीले मात्र चलाउन पाउनु पर्ने मनोगत सिद्धान्त वहांले पक्रनु भयो । यसो गरेर पुष्पलालका पाला देखिकै जनतान्त्रिक कम्युनिष्ट मान्यता बिरुद्ध, बहुमतको निर्णय नमान्ने अडान लिएर मदन भण्डारीको जबज बिरुद्ध र सरकार पार्टी बाट अलग बताएर मनमोहन अधिकारीको पार्टी र सरकारका बीच सन्तुलनको मान्यता बिरुद्ध आफूलाई उभ्याउनु भयो । केपीओली प्रबृती संबिधान मिच्ने, मर्यादा मिच्ने, हुलहुज्जत गर्ने, झुटा कुराहरुको धमाकेदार प्रचार गर्ने, सहकर्मीहरुको अपमान गर्ने, जतिसुकै एक्लो र अमिल्दो देखिएर सर्बांग नांगो भई दुनियाले मुख छोपेर हिंड्दा समेत आफू बलवान, बहादुर र बिशिष्ट भएको ढोंग गर्ने प्रबृत्ती हो । यसले पार्टीमा धमिराहरु पार्दै पार्दै लगेर बिशाल पार्टीलाई छिन्नभिन्न अबस्थामा पुर्यायो । नेकपा विभाजनको प्रमुख कारण यहि हो ।
अर्को तिर, दक्षिण एशियामा पछिल्ला दिनहरुम बिकास भैरहेका राजनीतिक घटनाक्रमहरुलाई हेर्दा पनि यस बिभाजनलाई बुझ्न मद्दत पुग्दछ । यसबारे चर्चा गर्दा लामो हुन सक्छ । सार कुरा के हो भने आज चीन र भारत बीचको झगडाले दक्षिण एशियाका हरेक देशहरुको महत्व बिगतमा भन्दा बढेर गएको छ । भारतसंग सहकार्य गरेर चीनलाई साइजमा ल्याउने रणनीति बनाइरहेको अमेरिकाले भारत मार्फत केपीओलीलाई बिभिन्न ढंगले आफ्नो क्याम्पमा तान्न सफलता पाएको छ । भारतीय गुप्तचर बिभागका प्रमुखको प्रधानमन्त्रीसंग भएको रहस्यमय गैरकुटनीतिक भेट यताका भारतीय भेट श्रृंखला सम्भवतः केही समयमै ओलीको भारत भ्रमण सम्म पुगेर टुंगिने छ । नेपालमा चीनको जस्तै नाम भएको कम्युनिष्ट बहुल संसदलाई नेकपाकै नेताको हालबाट समाप्त पारेर चीनलाई लोप्पा खुवाउने र नेपालको अस्थीताबाट निरन्तर लाभ लिने भारतीय चालबाजीमा केपीओली नराम्ररी फस्न पुगेका छन् । ओलीले एमसिसि र आइपिएसको समर्थन त गरिरहेकै थिए, अब उनी बिआरआईको बिरुद्ध पनि खुल्दै जाने छन् । आजको ओलीलाई भारतले सिंगरपटार गरेर अगाडी सारिरहेको छ । नेकपा विभाजनको दोश्रो कारण सयह हो । यी आरोपहरु होइनन् । आजको तथ्यगत बिश्लेषण हो ।
जनताले नेकपालाई दिएको बहुमतको कदर भएन भन्ने गुनासो व्याप्त छ । त्यत्रो बहुमतका बाबजुद प्रतिनिधिसभा विघटन गरियो, यसले गर्दा भोलिका दिनमा जनताको विश्वास आर्जन गर्न समस्या हुँदैन ?
नेकपालाई जनताले व्यापक मत दिएर बिश्वास गरे तर नेकपाले सहि पात्रलाई अघि सारेर जनबिश्वास अनुरुप काम गर्न सकेन । सुसाशन, बिकास र सम्बृद्धिका जनअपेक्षाहरु माथि सरकारद्वारा गंभीर घात भयो । उल्टो घोषणापत्र र पार्टीको योजना अनुरुप सरकार नचल्ने सार्वजनिक उद्घोषहरु भए । स्थिरताका लागि आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमतिबाट पछि हटेका प्रचण्ड र अन्य सहकर्मी नेताहरुलाई अनेकौं जाली आरोपहरु लगाएर काम गर्नै नपाएको सफेद झूटको खेती गरियो । मन्त्रीहरुलाई थाहा नदिई प्रमकै संलग्नतामा बाहिरबाट निर्णयहरु गराउने, बिभागीय मन्त्रीहरुले बर्ष दिन सम्म प्रमलाई भेट गर्न नपाउने, क्याबिनेटमा समेत मन्त्री बोल्न नपाउने, संसदीय दलले कुनै काम नपाउने लगायतका अबस्था प्रधानमन्त्री ओलीका कारण सिर्जना भयो । उहां कहिल्यै पनि आत्मालोचक वा विनम्र रुपमा पेश हुन इच्छुक हुनु भएन, बरु सदैव फोस्रो आत्मप्रशंशामा रमाउनु भयो । काम नगरी फूर्ती लडाउने रोगको ओलीजी गंभीर बिरामी हुनु भयो । पार्टीले ती बिषयहरुमा सच्याउन गरेको अनुरोध पटक पटक अस्विकार गरेका ओलीलाई दबाबबाट रुपान्तरण गर्न सिंगो पार्टी लागे पछि वहां असंबैधानिक रुपमा संसदकै बिघटन गर्न लाग्नु भयो । वहांले यस कार्यमा राष्टपतिलाई समेत बिबादको भुमरीमा हाल्नु भयो । यो सार्वजनिक भैसकेको घटना श्रृंखला आम नेपाली जनसमुदायलाई राम्ररी थाहा छ । तसर्थ, यो घटनाका कारण जनताले नेकपालाई बिश्वास गर्ने तर केपी ओली र उनका प्रशंशकहरुलाई सजायं दिने अबस्था आउने छ । केही कमजोरी हाम्रा रहेछन् भने सच्याउंदै जानेछौं र भ्रमहरु तोड्दै जानेछौं ।
के अब सडक संघर्ष नै निकास हो ?
केपी ओलीले गरेको संसदको असंबैधानिक बिघटन बिरुद्ध अदालतमा मुद्दा बिचाराधीन छ । ओली प्रधानमन्त्रीको कुर्सीमा बसेर दिनहुं अदालतलाई धम्की दिइरहेका छन् । ओलीले संसद बिघटन गरेर नेपाल देश र यहांका जनतालाई निकै ठूलो चुनौती दिएका छन् । त्यो चुनौतीको सामना गर्न हामी सडकमा आउन बाध्य भयौं । अदालत प्रतिको संशयले पनि थोर बहुत यस अबस्थाका लागि काम गरेको छ जस्तो लाग्छ । अदालतले बिग्रिन लागेको राजनीतिक कोर्षलाई संसद पुनस्थापना गरेर सहि बाटोमा लाने बित्तिकै यो आन्दोलन स्थगित भइहाल्छ । संघर्ष हाम्रो रहर होइन ।
अन्त्यमा प्रवासमा रहेका नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई के सन्देश दिन चाहानु हुन्छ ?
प्रबासमा बसेर पनि यहांहरुले देश बिकासमा महत्वपूर्ण भूमिका खेल्नु भएको छ । राजनीतिक रुपमा सचेत रहनु होला । आश वा त्रासका आधारमा होइन, सत्य तथ्यमा आधारित भएर नेपाली समाज र राजनीतिका बारेमा धारणा बनाउन अनुरोध गर्दछु । नेकपाको बिभाजनबाट यहांहरु जस्तै हामी पनि दुःखी छौं तर यो दुखबाट मुक्त हुन एकताबद्ध रुपमा संगठित बनौं । धन्यवाद ।