बारा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई भारतीयलाई पक्राउ गरेको छ । शनिबार फेटा गाउँपालिका वडा नं ५ जोतपुर टोलस्थित दशगाजा क्षेत्र नजिकै पर्ने सडक खण्डमा दुई भारतीय नागरिक पक्राउ परेका हुन् ।
अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटी गएको प्रहरी टोलीले शङ्का लागि जाँच गर्दा मोटरसाइकलमा सवार दुई भारतीय नागरिकलाई नगदसहित पक्राउ गरी आज सार्वजनिक गरिएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
बिआर ०५ थ ६४१७ नम्बरमा सवार भारत बिहार जिल्ला मोतिहारी थाना हंशपुर ग्राम पञ्चायत वडा नं १० घोडासहान बस्ने २६ वर्षीय अरबिन्द महतो र १४ वर्षीय नाम परिवर्तित खम्बालाई पक्राउ गरेको प्रवक्ता मिश्रले बताए ।
कपडाको झोलामा लुकाइछिपाइ एक हजारको एक हजार ९२३ थान, ५ सयको पाँच हजार ७०४ थान, सयको एक हजार २०० थान र ५० को १०० थान रुपैयाँसहित नेपाल आइरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको र यस कारोबारमा नेपालीको पनि सहभागिता रहेको हुनसक्ने हुँदा चाँडै नै तिनीहरुलाई कानुनी दायरामा ल्याउने उपरीक्षक शाहीले बताए ।
पक्राउ परेका दुवै जनालाई सम्पत्ति शुद्धीकरण विभाग काठमाडौँमा पठाउने उनले बताए । पक्राउ परेका हकमा बिगोको दोब्बर र दुई वर्षदेखि १० वर्षसम्मको जेल सजाय हुने व्यवस्था रहेको छ ।