कुवेत – कुवेतमा एक नेपाली महिला कामदारको उपचारको क्रममा मृत्यु भएको छ । डिपोर्टेशन मार्फत स्वदेश फर्कन लागेकी ४४ वर्षीया देवी माया लिम्बुको मृत्यु भएको हो ।
ताप्लेजुङ जिल्ला साघुँ गाउँपालिका - १ स्थायी घर भइ हाल धरानमा बसोबास गरि करिब अढाइ वर्षदेखि कुवेतमा कार्यरत रहि स्वदेश फर्कन लागेकी ४४ वर्षीया देवी माया लिम्बुको उपचारको क्रममा कुवेतको फरवानिया अस्पतालमा यहि मार्च ७ तारिक बिहान मृत्यु भएको हो ।
कुवेतमा घरेलु कामदारको लागि राहदानी नं. ०८९८७७११ देवी माया भारतको बाटो हुँदै आएकी थिइन् । केही समय स्पोन्सरको घरमा काम गरे पछि उनी स्पोन्सरको घरबाट बाहिर निस्केर अवैधानिक रूपमा काम गर्दै आएकी थिइन् । नेपाली राजदूतावासबाट गत जनवरी ३१ तारिक ट्राभल डकुमेन्ट बनाइ डिपोर्टेसन प्रक्रियाबाट घर जान तयारी भएको थिइन् तर एक महिना देखि सम्पर्कबिहिन भइ अचानक हिँजो ७ मार्च तारिकको दिन मृत्यु भएको खबर प्राप्त गरेको भाइ देव लिम्बुले बताएका छन् ।
नेपाली राजदूतावासका द्वित्तिय सचिव श्रीकृष्ण सिलवालका अनुसार मृत्यु बारे प्रारम्भिक जानकारी प्राप्त भए पनि अस्पतालको पोष्टमार्टम रिपोर्ट लगायत अन्य विवरण प्राप्त नभएकोले सबै विवरण प्राप्त भए पछि नेपालमा मृतकका परिवारजनसँग समन्वय गरि कानुनी प्रकृया पुरा गरि शव नेपाल पठाइने बताउनु भएको छ ।
घर-परिवारको अर्थिक अवस्था सुधार्नका लागि परदेश आएकी देवी मायाको परदेशमै मृत्यु भएको छ भने उनी कुवेत आएपछि उनका श्रीमानको पनि मृत्यु भइसकेको छ । उनको घरमा २ छोरा र १ छोरी छन् ।
फोटो साभार - तिताेपाटी