म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले म्याग्दीका बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ ।
कुवेतमा कार्यरत नेपालीहरु, मोना कुवेतका पदाधिकारी र सदस्य लगायतबाट संकलन गरिएको रकम ७७६ कुवेती दिनार अर्थात नेपाली दुई लाख अन्ठानब्बे हजार दुई सय बयसठ्ठी रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
म्याग्दीको विभिन्न स्थानमा गत दुई हप्ता पहिले अविरल वर्षाका कारण बाढीपहिरोबाट विस्थापित भएकाको पुर्नस्थापना तथा राहातका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले संकलन गरेको रकम मोना आईईसीको खातामा पठाएको उपाध्यक्ष तथा “आर्थिक सहयोग सङ्कलन अभियान” का संयोजक मान बहादुर फगामीले बताउनु भएको छ ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिको मातहतमा सम्पूर्ण देशका राष्ट्रिय कार्यकारी समितिले संकलन गरेको आर्थिक सहयोग रकम एकद्वार प्रणालीबाट जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा बाढीपहिरोबाट विस्थापित भई घर, जग्गा नभएकाको लागि मोना नमुना बस्ती बनाउने र जग्गा भएकाको लागि घर बनाउने तयारी गरिरहेको छ । भने म्याग्दीका विभिन्न ठाउँका बाढीपहिरो पीडितलाई राहात पनि वितरण गर्दै आएको मोना कुवेत अध्यक्ष प्रेम बहादुर बिश्वकर्माले बताउनु भएको छ ।

