कुवेत- कुवेत स्थित साल्मियामा धनकुटा बाट घरेलु कामदारका लागि कुवेत गएकी सुमित्रा तामाङले झुन्डिएर आत्महत्या गरेकी छिन ।
घरेलु कामदार ३२ वर्षीय १०६६७३०१ नम्बर राहदानी वाहक सुमित्रा तामाङ २० जुलाई २०२१ का दिन आफैले काम गर्ने स्पोन्सर (रोजगारदाता) को अपार्टमेन्टमा कोठाको छतको पङ्खामा झुन्डिएर आत्महत्या गरेको हो ।
मृतक सुमित्राको स्पोन्सर (रोजगारदाता) लेबनीज हो । सुमित्राले किन आत्महत्या गरिन त्यो भने अझैसम्म खुल्न सकेको छैन । कुवेत मै केही समय पहिले पनि एक प्रेम जोडीले झुन्डिएर आत्महत्या गरेका थिए ।
नेपाली दूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालका अनुसार 'सुमित्रा तामाङको मृत्यु भएको जानकारी दूतावासमा आईसकेको छ । तर मृतकको घर परिवार संग अथक प्रयास गर्दा पनि सम्पर्क भने हुन सकेको छैन । मृतकको स्पोन्सर (रोजगारदाता ) संग पनि सम्पर्क भएको छ । मृतकको शव लाई नेपाल पठाउनका लागि कानूनी कामहरु अगाडी बढाईसकिएको छ' ।
दूतावासले मृतक सुमित्रा तामाङको घर परिवारको सम्पर्क नम्बर कोही संग छ भने उपलब्ध गराई सहयोग गरिदिनको लागि पनि आग्रह गरेको छ ।