दुई डोज कोरोना खोपको मात्रा पुरा गरेका नेपाली श्रमिकहरु यूएई जान पाउने भएका छन्। यूएईको रेसिडेन्ट (आवासीय) भिसा भएका र कोरोना खोपको मात्रा पुरा गरेका नेपाली श्रमिकहरु आउँदो अगष्ट ५ देखि यूएई आउन सक्ने राष्ट्रिय आपतकालीन संकट तथा विपद् व्यवस्थापन प्राधिकरण (एनसीईएमए) लाई उदृत गर्दै खालिज टाईम्सले जनाएको छ।
यूएई जान चाहने श्रमिकले दोस्रो खोप लगाएको १४ दिन पछि मात्र यूएई प्रवेश पाउने एनसीईएमए जनाएको हो।जसमा कोभिड खोपको मात्रा पुरा गरेको प्रमाणपत्र वा कार्ड साथमा हुनु पर्ने छ। खालिज टाईम्सका अनुसार आउँदो विहिबार देखि नेपाल लगाएत अन्य मुलुक भारत, पाकिस्तान, श्रीलंका, नाइजेरिया र युगान्डाका यूएई रेसिडेन्ट (आवासीय) भिसा भएको नागरिकलाई यो नियम लागु हुने जनाएको छ।
बढ्दै गैरहेको कोभिड-१९ लाई मध्यनजर गर्दै केहि समय देखि युएईले नेपाल लगायत भारत, पाकिस्तान, श्रीलंका, नाइजेरिया र युगान्डाका नागरिकहरुलाई यूएई प्रवेशमा रोक लगाइएको थियो। जसका कारण यूएईबाट आफ्नो मुलुक फर्किएका नागरिकहरु सहजै यूएई फर्कन पाएका थिएनन् भने कयौं श्रमिकहरुले आफ्नो रोजगारी गुमाएका थिए।
आउँदो अगष्ट ५ देखि लागु हुने गरि यूएई सरकारले ल्याएको नयाँ नीतिले विदामा नेपाल गएका नेपाली श्रमिकहरु निकै उत्साहित बनेका छन्। महिनौं देखि हवाई उडान बन्द भएकाले रोजगारीमा फर्कन नपाएर पिडा बोकेर बसेका नेपाली श्रमिकहरु पुनः रोजगारीमा फर्कन पाउदा निकै खुशी देखिन्छन्।