गैरआवासीय नेपाली संघ (एनआरएनए)को मध्यपूर्व क्षेत्रीय संयोजकमा राजेन्द्र अर्याल (जोन) ले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिमा मध्यपूर्व क्षेत्रीय उप–संयोजकको जिम्मेवारी निर्वाह गरिरहेका अर्यालले संघको आगामी कार्यकालका लागि संयोजकमा उम्मेदवारी घोषणा गरेका हुन्। पाल्पा स्थायी घर भएका अर्याल विगत दुई दशकदेखि साउदी अरबमा कार्यरत छन्। ‘सेवा नै धर्म हो’ भन्ने भावनाबाट प्रेरित भएर आफू सामाजिक अभियानमा जोडिएको अर्याल बताउँछन् |
अर्याल साउदीमा एनआरएनए स्थापना हुनु अगावै पनि श्रमिकका समस्या समाधानमा सक्रिय थिए। सन् २०१३ बाट अर्याल एनआरएनए अभियानमा निरन्तर क्रियाशिल छन्। शान्त र भद्र स्वभावका अर्याल मध्यपूर्वी मुलुकमा कार्यरत अधिकांश नेपालीको रोजाइमा पर्छन् । उसो त उनको आगामी कार्यकालका लागि मध्यपूर्व संयोजकमा निर्विरोध चयन हुने सम्भावना प्रवल छ । अर्याललाई निर्विरोध संयोजकमा ल्याउन एनआरएनए मध्यपूर्वका अग्रजबीच सहमति जुटिसकेको बुझिएको छ |

अहिलेसम्म मध्यपूर्व संयोजकमा अर्यालबाहेक कसैको उम्मेदवारी नआएकोले अर्याल निर्विरोध हुने सम्भावना देखिएको छ | कोभिड महामारीमा साउदीलगायत मध्यपूर्वी देशमा अलपत्र परेका नेपाली श्रमिकको राहत तथा उद्धार कार्यमा उनको भूमिका विशेष मानिन्छ । आगामी कार्यकालमा पनि आफ्नो पहिलो प्राथामिकतामा श्रमिकका रहने अर्यालले बताए। ‘विदेशमा बस्ने नेपालीमा सबैभन्दा ठूलो समस्या भनेको मध्यपूर्वमा काम गर्ने श्रमिकको हो |
मध्यपूर्वी देशहरूमा नेपालीले भोग्दै आएका समस्या नै मेरो प्राथामिकतामा हुनेछन्,’ अर्यालले भने। यस्तै उनले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन नीतिगत विषयमा आफूले विशेष भूमिका खेल्ने बताए । सिङ्गो एनआरएनएको ध्यान नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स भित्रिने क्षेत्र मध्यपूर्वमा केन्द्रित गर्न तथा त्यस क्षेत्रका नेपालीका सम्पूर्ण समस्या र कामदारको नियमित र उचित पारिश्रमिक, उनीहरूको सामाजिक सुरक्षाका विषयलाई संस्थागतरूपमा उठाउन आफूले उम्मेदवारी दिएको अर्यालको भनाइ छ|
मध्यपूर्वी देशमा आएर नेपालीहरूले प्राप्त गरेको ज्ञान, सीप, क्षमता र अनुभवलाई देशको हितमा जोड्ने एजेण्डासमेत अर्यालले अघि सारेका छन्। एनआरएनएले नेपालमा नेपालमा सञ्चालन गर्ने परियोजनामा मध्यपूर्वका नेपालीलाई पनि लगानीको अवसर दिनुपर्ने उनको भनाइ छ |