कक्षा १२ को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सुक्रबार बिहान नतिजा प्रकाशित गरेको हो । शुक्रबार बिहान सार्वजनिक नतिजाअनुसार सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् ।
‘ए’ ग्रेड ल्याउने परीक्षार्थीको संख्या ४८ हजार २३९ छ । यस्तै, ७० हजार एक जना परीक्षार्थीले ‘बी प्लस’ ल्याएका छन् । ‘बी’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या ९९ हजार ५५३ रहेको बोर्डले जनाएको छ ।
‘सी प्लस’ ल्याउने परीक्षार्थीको सङ्ख्या ७५ हजार ८८ छ भने २४ हजार ५१५ जनाले ‘सी’ ग्रेड ल्याएका छन् । तीन हजार ८७५ परीक्षार्थीले ‘डी प्लस’ ल्याएका छन् ।
‘डी’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या २९६ छ भने १० हजार ७३ जनाले ‘ई’ ग्रेड ल्याएका छन् । गएको भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा–१२ को परीक्षामा तीन लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।
कोभिड–१९ का कारण परीक्षा दिन नपाएकाहरूले गएको बुधबारदेखि परीक्षा दिएका छन् । कोभिडका कारण परीक्षा दिन छुटेका ४१ विद्यार्थी परीक्षामा सहभागी छन् ।
ती परीक्षार्थीको परीक्षाफल १० दिनभित्र प्रकाशित गरिने बोर्डले जनाएको छ ।
नतिजा https://neb.ntc.net.np/ मा हेर्न सकिने छ । त्यस्तै एनइबी लेखेर एक स्पेस दिइ सिम्बोल नम्बर लेखेर १६०० मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ ।
यस्तै, आइभिआर १६०१ मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।