अघिल्लो साता अप्रत्यासित रुपमा हिउँ पर्यो । पूर्व सूचना थिएन । अन्य बेला हिउँ नपर्ने ठाउँमा समेत हिमपात भयो ।
अहिले पनि मौसम खुलिसकेको छैन । उत्तरी गोरखा पूरै हिमालसँग जोडिएको छ । सामान्य मौसम फेरबदलमै यहाँ हिमपात हुन्छ । केही दिनअघि एउटा तस्बिर सार्वजनिक भएको थियो जहाँ हिउँमाथि टेबुल कुर्सी राखेर विद्यार्थीले परीक्षा दिँदै गरेका थिए ।
यो तस्बिर गोरखाको चुमनुब्री गाउँपालिका–४ गापस्थित नुब्री आधारभुत विद्यालयको प्रथम त्रैमासिक परीक्षाको थियो ।
एक्कासी हिमपात भयो, शिक्षकहरूले पूर्वनिर्धारित परीक्षा रोक्न सकेनन् । कक्षाकोठामा राखेर परीक्षा दिन नसक्ने अवस्था नभएपछि विद्यार्थीलाई बाहिर राखेर परीक्षा दिन लगाइयो । टेबुलकुर्ची हिउँमाथि राखिएको थियो, त्यहीँबाट विद्यार्थीले परीक्षा दिए ।
१ देखि ८ कक्षासम्म पढाई हुने उक्त स्कुलका ९० बालबालिकाले हिउँमाथि बसेर परीक्षा दिए ।
पहिलो र दोस्रो सिफ्ट गरेर परीक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक गणेश ढकालले जानकारी दिए । “परीक्षा सुरू भएपछि हिउँ पर्न थाल्यो । भित्र राख्दा झनै जाडो हुने भएपछि बाहिर राखेर परीक्षा दिन लगाएका हौँ,” उनले भने, “हतार गरेर परीक्षा सक्यौँ । स्कुल बन्द गरेर हामी चाहिँ बेँशी झरेका छौँ, विद्यार्थी घरतिरै छन् ।”
गाउँपालिका र वडाको मौखिक निर्देशनपछि एक महिनाका लागि विद्यालय बन्द गरेको र एक महिनापछि सोही भवनमा स्कुल सञ्चालन गरिने ढकालले बताए । चुमनुब्रीमा एउटा मात्रै घुम्ती विद्यालय छ ।
मनाङ र मुस्ताङका विद्यालयले पोखरा, लमजुङ, काठमाडौँलगायत ठाउँमा घुम्ती पढाई चलाउँछन् । तर, गोरखामा त्यो व्यवस्था नभएकोले समस्या परेको उनले बताए । “घुम्ती स्कुल भए सजिलो हुन्थ्यो ।
हाम्रो तिर सरकारले त्यो सुविधा दिएको छैन,” उनले भने, “आफैँ गरौँ भने स्राते पुग्दैन । विद्यार्थीलाई यसरी गाह्रो हुन्छ ।’
उत्तरी गोरखा भौगोलिक रुपमा विकट र चेतनास्तरमा पनि कमजोर छ । सरकारले आवासीय विद्यालयको अवधारणा ल्याए पनि कार्यान्वयन राम्रो छैन ।