Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

महत्वकांक्षी श्रीमती हुनु समस्या हो

महत्वकांक्षी श्रीमती हुनु समस्या हो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २७, २०७७ शनिवार • १८:३३:१२ बजे
  • 1.4K
    SHARES
  • महत्वकांक्षी श्रीमती  हुनु समस्या हो
    एक नवजवान युवको सपना छ, पाश्र्व गायक बन्ने । यसैका लागि उनले निकै संघर्ष पनि गरेका छन् । संगीतमा उनको लगाव मात्र छैन, उत्तिकै कठोर मेहनत पनि ।

    उनको विवाह त्यही युवतीसँग हुन्छ, जो शास्त्रिय गायनमा रुची राख्छे । उनी आफैमा प्रतिभाशाली छिन् र परिश्रमी पनि । दुबै दम्पतीको रुची यहाँ मिलेको छ । अर्थात श्रीमान–श्रीमतीले एउटै बाटो रोजेका छन्, गायन ।



    तर, समान सपना लिएर एउटै बाटोमा हिँडिरहेका उनीहरु एकाकार हुन सक्दैनन् । श्रीमानको आकंक्षा छ, जीवनसंगीले घर सम्हाल्नेछिन् । घरव्यवहार, धन्दा, बालबच्चा र आफ्नो विशेष ख्याल राख्नेछन् । त्यसपछि आफुले संगीतमा अरु बढी समय दिन सकिनेछ र अपेक्षाकृत सफलता मिल्नेछ ।

    श्रीमानको सपनामै आफुलाई विलय गराउन तयार छिन् त उनकी श्रीमती ? पक्कै छैनन् । विवाह गर्दैमा उनी आफ्नो करियरलाई विट मार्ने पक्षमा छैनन् । उनी घर–परिवारसँगै समानन्तर रुपमा आफ्नो करियरलाई अघि बढाउन चाहन्छिन् । यही विन्दुबाट श्रीमान र श्रीमतीबीच खटपट हुन्छ ।

    समयक्रममा श्रीमती चर्चित गायिका बन्न पुग्छे । उनी सेलिब्रेटी कहलिन्छन् । तर, श्रीमान् ? उनी अझै संघर्षरत नै छन् । करियरको सन्दर्भमा उनलाई आफ्नै श्रीमतीले चार कदम पछाडि छाडिसकेकी छिन् । यसले उनीहरुमा एक किसिमको प्रतिस्पर्धाको भाव मात्र होइन, इष्र्या समेत पैदा गरिएको छ । नतिजा, एक छोराको अभिभावक समेत भइसकेका उनीहरु एकअर्कादेखि अलग हुने निर्णमा पुग्छन् ।

    सन् १९९५ मा प्रदर्शनमा आएको हिन्दी चलचित्र ‘अकेले हम अकेले तुम’को कथासार हो यो । तर, यही कथा हाम्रो समाजको यर्थाथ पनि हो । यस्ता कति दम्पती छन्, जसलाई एकअर्काको महत्वकांक्षाले अलग गराइदिएको छ ।

    हाम्रै समाजको पुरातन धारणा के छ भने, महिलाहरुले घर-गृहस्थी सम्हाल्नुपर्छ । उनीहरुले चुल्होचौका सम्हाल्नुपर्छ । छोराछोरी स्यहारसुसार गर्नुपर्छ ।

    यस्तो अवस्थामा महिलाले घरको संघार नाघेर बाहिर आउनुलाई ‘बिद्रोह’ भन्ने गरिन्छ । कतिपय परिवारका लागि यो अशोभनिय मानिन्छ । तर, महिलाहरुले सधै आफुलाई खुम्चाएर राख्न सक्दैनन् । उनीहरुले आफ्ना इच्छा–आकंक्षालाई गुम्साएर राख्न सक्दैनन् । उनीहरु घरको परिधीबाट बाहिर जान खोज्छन् । यस्तो अवस्थामा पनि श्रीमान् र श्रीमतीबीच कतिपय मतभेद हुनसक्छ । त्यही मतभेदले क्रमस सम्बन्धमा चिसो ल्याउन थाल्छ ।

    कतिपय श्रीमतीमा उच्च महत्वकांक्षा हुन्छ । उनीहरु आफ्नो करियर, नेम र फेमका लागि पनि परिवारको परिधीबाट बाहिर आउन खोज्छन् । यस्तो अवस्थामा पनि श्रीमान् र श्रीमतीबीच तालमेल मिल्दैन ।

    श्रीमती महत्वकांक्षी हुनु समस्या हो ?

    प्रश्न जटिल छ । किनभने हामीकहाँ श्रीमतीले घर-परिवार सम्हाल्नुपर्ने दायित्व हुन्छ । खाना पकाउने, बालबच्चाको हेरचाह गर्ने, सासु–ससुराको ख्याल गर्ने जस्ता यावत् काम श्रीमतीले गर्नुपर्छ भन्ने हाम्रो धारणा छ । यसरी घरभित्रको काम श्रीमतीले सम्हालेपछि घर-व्यवहारको वा बाहिरको कामको जिम्मेवारी श्रीमान्ले लिन्छन् । यस किसिमको तालमेलले परिवारमा सुख छाउँछ । दाम्पत्य सम्बन्धमा तालमेल मिल्छ ।

    तर, महिला अर्थात श्रीमतीले घर-धन्दामै आफुलाई सीमित गर्नुपर्छ भन्ने जुन धारणा छ, त्यसले पनि समस्या पैदा गर्न सक्छ । किनभने श्रीमतीको महत्वकांक्षा आफैमा समस्या होइन । समस्या चाहि के हो भने, श्रीमानले त्यसलाई उचित व्यवस्थापन गर्न नसक्नु ।

    तर, के आफ्ना श्रीमतीको महत्वकांक्षा पुरा गराउने बाटोमा श्रीमानले सहयोग गर्न सक्छन् ? यसको जवाफ नकारात्मक आउन सक्छ । किनभने पुरुषमा आफ्नै अभिमान हुन्छ । अहंम हुन्छ । अक्सर श्रीमान चाहन्छन् कि, श्रीमती आफुभन्दा अगाडि बढ्न सकोस् । उनीहरुले अलग पहिचान बनायोस् र लोकप्रिय होस् ।

    अब श्रीमती पनि श्रीमान्को इच्छा अनुसार आफुलाई खुम्चाएर बस्न तयार हुँदैनन् । उनीहरु आफ्नो आकंक्षा पुरा गर्नका लागि जस्तोसुकै अडान लिन पछि पर्दैनन् । यता श्रीमान् पनि आफ्नो अडानबाट पछाडि हट्दैनन् ।

    हो, यही मोडमा आइपुगेपछि दुबैले लिने निर्णय हो, अलग हुने ।

    यसको सोझो अर्थ के भने, श्रीमान् र श्रीमतीको अहंम्, अडान, आकंक्षाले उनीहरुमा फाटो ल्याउँछ । दाम्पत्य सम्बन्ध टुट्न पुग्छ ।

    श्रीमान् र श्रीमतीका आ-आफ्नै इच्छा, आकंक्षा, चाहना हुन्छन् । तर, उनीहरुको लागि सर्वोपरी भनेका आफ्ना परिवार हुन्, जो उनीहरुले रचना गरेका हुन्छन् । उनीहरु छोराछोरी, आमाबुवा, सासुससुरासँग अभिन्न रुपले जोडिएका हुन्छन् । यस्तो अवस्थामा उनीहरुले जुन पारिवारिक संरचना बनाएका हुन्छन्, त्यसलाई जोडेर राख्नु दुबैको दायित्व हो ।

    केही कुरा

    – श्रीमान्–श्रीमतीमा कुनैपनि किसिमको प्रतिस्पर्धा गृहस्थी र दाम्पत्य दुबैका लागि सुखद हुँदैन, यसलै यसबाट बच्नुपर्छ । एकअर्काको भावना र इच्छालाई सम्मान गरेर उनीहरुले यी सबै कुरा पाउन सक्छन् ।

    –श्रीमती जीवनमा केही बन्न चाहन्छिन् वा हासिल गर्न चाहन्छिन्, त्यो गलत होइन । यो उनको हक हो । यद्यपी श्रीमतीले यो कुरा बुझ्नुपर्छ कि उनी के प्राप्त गर्न चाहन्छिन् ? त्यसले उनमा के हासिल हुन्छ ? श्रीमान्को भावनालाई ठेस लगाएर प्राप्त गरिने यस्ता कुराले जीवनमा के अर्थ राख्छ ?

    – श्रीमानको प्रोत्सहान र प्रशंसाले श्रीमतीको प्रतिभा निखारिन्छ । उनको मनासय श्रीमतीलाई होच्याउने होइन ।

    – श्रीमती प्रतिभाशाली छिन्, सार्वजनिक जीवन व्यतित गरिरहेकी छिन् भने यही कारणले श्रीमान्लाई हीनताबोध चाहि हुनुहुँदैन ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology