Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

ब्रेललिपिमै एसइई दिन चाहन्छन् दृष्टिविहीन विद्यार्थी

ब्रेललिपिमै एसइई दिन चाहन्छन् दृष्टिविहीन विद्यार्थी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १९, २०७९ आइतवार • १९:४८:१९ बजे
  • 577
    SHARES
  • ब्रेललिपिमै एसइई दिन चाहन्छन् दृष्टिविहीन विद्यार्थी

     इलामको माई नगरपालिकाका दृष्टिविहीन सविन विक झापाको गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयबाट एसइई परीक्षा दिइरहेका छन् । उनी सो विद्यालयका आवासीय विद्यार्थी हुन् । राष्ट्रिय परीक्षा बोर्डले घरपायक (होम सेन्टर) विद्यालयमा परीक्षा दिन पाउने व्यवस्था गरेपछि उनी जस्तै झापाका तीन दृष्टिविहीनले आफू पढिरहेकै विद्यालयमा जाँच दिन पाएका छन् ।

    images

     सेतो छडीको सहारामा परीक्षा केन्द्रमा पुग्ने सविन आफूले पढिरहेको भन्दा एक कक्षामुनिका विद्यार्थीलाई लेखन सहयोगी राखेर एसइईको परीक्षामा सहभागी छन् । दृष्टिविहीन र अन्य परीक्षार्थीका लागि बोर्डले दिएको सुविधा त्यही लेखन सहयोगी मात्र हो । प्रश्नपत्र उही छ । बस्ने कोठा उस्तै हो । परीक्षाको समयमा आधा घण्टा थप गरिएको हुन्छ ।

     राम्रो ग्रेड ल्याएर एसइई उत्तीर्ण गर्ने सपना साँचेका सविन लेखन सहयोगी राखेर परीक्षामा सहभागी हुनुपरेकोमा सन्तुष्ट छैनन् । आफ्नो मनको भावना सहयोगीले पूर्णरूपमा व्यक्त गर्न नसक्ने उनको अनुभव छ । “हामी परीक्षासँग डराउँदैनौँ, हामीले पनि राम्रो अध्ययन र परीक्षाको तयारी गरेका हुन्छौँ”, बलियो आत्मविश्वासका साथ उनी भन्छन्, “तर, ब्रेललिपिमा उत्तर दिने अवसर पाएनौँ ।” सविनलाई अध्यापन गराउँदै आउनुभएका दुर्गा माध्यमिक विद्यालयका स्रोत शिक्षक चन्द्र भट्टराई ब्रेललिपिमा परीक्षा दिन पाउने हो भने दृष्टिविहीनले उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गर्नुहुन्छ ।

     शिक्षक भट्टराईले १२ दृष्टिविहीन विद्यार्थीलाई दुर्गा माविमा पढाउँदै आउनुभएको छ । सो माविबाट एसइई परीक्षा दिइरहेका सविन विक र सन्देश लिम्बूले कक्षा ९ मा अध्ययनरत विद्यार्थीद्वय शिशिर मिश्र र फरिदा खातुनलाई लेखन सहयोगी राखेका छन् ।

     दमकको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट दृष्टिविहीन निर्मला कार्कीले एसइई परीक्षा दिइरहेकी छन् । पढिरहेकै विद्यालयलाई नै उपकेन्द्र बनाएर राष्ट्रिय परीक्षा बोर्डले दृष्टिविहीन विद्यार्थीलाई परीक्षा दिने व्यवस्था मिलाएका कारण निर्मलाले पनि एक जना लेखन सहयोगी राखेर जाँच दिइरहेकी छन् । 

     परीक्षा हलमा परीक्षार्थीले जे जे उत्तर लेख्नु भन्छन्, लेखन सहयोगीले त्यही विवरण लेखिदिने काम गर्दै आएका छन् । यसरी मनको भावना अर्कालाई सुनाएर लेखाउँदा बोल्ने र लेख्ने व्यक्तिको शतप्रतिशत तारतम्य नमिल्ने शिक्षक भट्टराई बताउनुहुन्छ । “दृष्टिविहीन परीक्षार्थीको मनमा जुन भावना आउँछ, त्यो लेखन सहयोगीको भरमा अभिव्यक्त हुन सक्दैन”, उहाँ भन्नुहुन्छ, “भन्दाभन्दै आधा कुरा बिर्सने सम्भावना हुन्छ भने बोल्ने आफ्नो मन र लेख्ने अर्काको हातको तालमेल पनि मिल्दैन ।” उहाँले आगामी दिनमा दृष्टिविहीन परीक्षार्थीका लागि ब्रेललिपिमै परीक्षा दिन पाउने व्यवस्था गर्न राष्ट्रिय परीक्षा बोर्डलाई सुझाव दिनुभयो ।

     ब्रेललिपिमा पढेका विद्यार्थीले ब्रेल लिपिमै परीक्षा दिन पाउनु जायज हुने उल्लेख गर्दै उहाँले दृष्टिविहीनका लागि प्रश्नपत्र बेग्लै हुनुपर्ने माग गर्नुभयो । सामाजिक र विज्ञान विषयको चित्रात्मक प्रश्नपत्रको साटो दृष्टिविहीनका लागि वैकल्पिक प्रश्नपत्र दिइनु पर्ने शिक्षक भट्टराई सुझाव छ ।

     दृष्टिविहीन विद्यार्थीका लागि गणित विषयको पठनपाठन र परीक्षा सबैभन्दा कठिन हुने गरेको छ । कक्षामा शिक्षकले प्रयोग गर्ने कालोपाटी उनीहरूका लागि उपयोगी हुँदैन । ज्यामितिमा प्रयोग हुने चित्र उनीहरूले नदेख्ने हुँदा सिकाइ नै प्रभावकारी हँुदैन । 
     
     झापाका दृष्टिविहीनमध्ये तत्कालीन एसएलसी परीक्षा दिने पहिलो विद्यार्थी दीपक थापा पनि गरामनीस्थित दुर्गा माविकै हुनुहुन्छ । उहाँले २३ वर्षअघि २०५६ सालमा एसएलसी परीक्षा दिनुभएको थियो । पहिले र अहिलेको परीक्षाको नाम फरक परे पनि परीक्षाको प्रणाली, शैली र विद्यार्थीले भोग्नु पर्ने समस्या उस्तै रहेको उहाँले बताउनुभयो । ब्रेललिपिमा अध्ययन गरेकाहरूका लागि राज्यले ब्रेललिपिमै परीक्षा दिन पाउने व्यवस्था मिलाउन सक्नुपर्ने उहाँको भनाइ छ ।

     “आफँैले लेख्न नपाएसम्म परीक्षा प्रभावकारी हुँदैन भनेर हामीले वर्षौंदेखि भन्दै आएका छौँ, तर कसैले हाम्रा माग सुनेनन्”, बिर्तामोड अपाङ्गता स्वावलम्बन संस्थाको अध्यक्षसमेत रहनुभएका थापाले भन्नुभयो, “भाइबहिनीले कति दुःखले पढेका हुन्छन् । अर्काले लेखेर पास गरेको भनिदिँदा दृष्टिविहीन विद्यार्थीको स्वाभिमानमा पनि चोट पुग्ने गरेको छ ।”

     दुर्गा माध्यमिक विद्यालयबाटै एसइई परीक्षा दिइरहेका दृष्टिविहीन सन्देश लिम्बूले पढाइमा तनमन लगाएर मेहनत गरेको जनाउँदै राम्रै नतिजा आउने अपेक्षा गरेका छन् । उनले पनि आफूले जाने र बुझेजति सबै उत्तर लेखन सहयोगीले लेखिदिन सम्भव नहुने बताउँदै ब्रेललिपिमा उत्तर लेख्न पाउने हो भने मन सन्तुष्ट हुने बताए ।

     दुर्गा माध्यमिक विद्यालय परीक्षा केन्द्राध्यक्ष लक्ष्मण शिवाकोटीले यसपालि गणित विषयको प्रश्नपत्रमा दृष्टिविहीनका लागि वैकल्पिक प्रश्न राखिएको बताउनुभयो । परीक्षार्थीहरू ब्रेललिपिमै परीक्षा दिन तयार रहेको कि नरहेको भनेर केही महिनाअघि केन्द्रीय बोर्डबाट सोध्दा ब्रेललिपिको सिफारिस गरिदिएको उहाँले बताउनुभयो ।

    सुस्त–श्रवण परीक्षार्थी १३ जना

     झापा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट १३ सुस्त–श्रवण विद्यार्थीले एसइई परीक्षा दिइरहेका छन् । तीमध्ये सात जना छात्र र छ छात्रा रहेको कनकाई–८ स्थित हिमाली माध्यमिक विद्यालयका स्रोत शिक्षक हरिप्रसाद अधिकारीले बताउनुभयो ।

     जिल्लाको कमलस्थित मङ्गलमय मावि, कनकाईस्थित हिमाली मावि र कनकाई मावि तथा बिर्तामोडको मोहनमाया माविमा सुस्त–श्रवण विद्यार्थीका लागि पढ्ने विशेष व्यवस्था रहेको छ । माध्यमिक तहको पढाइ भने हिमाली माविमा मात्र भइरहेको छ । साङ्केतिक भाषामा पढेका सुस्त–श्रवण विद्यार्थीलाई परीक्षा दिनभन्दा कक्षा कोठामा पढाएको बुझ्न गाह्रो हुने शिक्षक अधिकारी बताउनुहुन्छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology