एजेन्सी । विश्वब्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणबाट विश्वका एक करोड भन्दा बढी मानिस संक्रमित भैसकेका छन । सिंगो विश्व समुदाय यो महामारीसंग जसोतसो संघर्ष गरीरहेका छन । अहिलेका लागि प्रयोगात्मक उपचार पद्धतिकै भर पर्नु बाहेक अरु उपाय छैन ।
यद्यपी विश्वका विभिन्न मुलुकका वैज्ञानिकहरुले कोरोना संक्रमणका विरामीलाई निको पार्ने औषधिको खोजी गर्ने कामलाई निरन्तरता दिइरहेका छन । यसबारे सबैका आ–आफ्ना तर्कहरु सुन्न पाइन्छ । कसैले सफलताको नजिक पुगिसकेको बताएका छन भने केहीले महत्वपूर्ण उपलब्धी हात लागेको बताइरहेका छन ।
जेहोस, कारोना भाइरस संक्रमणका विरामीहरुलाई निको पार्ने खोपको विकासका लागि वैज्ञानिकहरु लागि रहेकै छन । यसै सन्दर्भमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले खोप विकासको दौडमा लागेका संस्थाहरुको प्रतिस्पर्धाका बारेमा केही खुलासा गरेको छ । उसले ब्रिटेनको अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरुको प्रयासलाई पहिलो स्थानमा देखेको छ ।
डब्लुएचओकी मुख्य वैज्ञानिक डा. सौम्या स्वामिनाथनले अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरुले गरीरहेको खोप विकासको काम बढी भरोसा गर्न लायक रहेको बताइन । उनले भनिन, ‘उनिहरुले अहिलेसम्म गरेको प्रगति र आविष्कारको उन्नत पक्षलाई मुल्यांकन गरेर भन्नु पर्दा, अक्सफोर्ड युनिभर्सिटीको टीम खोप विकासको दौडमा सबैभन्दा अग्रपंक्तिमा छ ।’
अक्सफोर्ड र एस्ट्राजेनेकाले तयार पारेको खोप ChAdOx1 nCov-19 क्लिनिकल परीक्षणको अन्तिम चरणमा छ । क्लिनिकल परीक्षणको अन्तिम चरणमा पुगेको यो विश्वकै पहिलो भ्याक्सिन हो । त्यस्तै अमेरिकाको मोर्डेना ईन्क कम्पनीले पनि आफ्नो भ्याक्सिन mRNA-1273 को दोस्रो चरणको क्लिनिकल परीक्षण पुरा गरिसकेको छ ।
मोर्डेना ईन्कले खोप विकासको कामलाई निकै द्रुत गतिका साथ अघि बढाइरहेको पनि बताएको छ । तर यो प्रतिस्पर्धामा अक्सफोर्ड र एस्ट्राजेनेकाको भ्याक्सिन विश्वले सबैभन्दा पहिले पाउन सक्ने प्रवल सम्भावना रहेको छ ।
डब्लुएचओकी मुख्य वैज्ञानिक डा.सौम्या स्वामिनाथनले भनिन, ‘मोर्डेनाको भ्याक्सिन तेस्रो चरणको क्लिनिकल टेस्ट नजिक पुगेको कुरा हामीलाई थहा छ । शायद जुलाईसम्ममा टेस्ट पुरा हुन्छ होला । त्यसैले मोर्डेना पनि धेरै पछि छैन । तर अक्सफोर्ड र एस्ट्राजेनेकाले तयार पारेको भ्याक्सिनको सम्भावना अधिक मात्रामा छ ।’ स्रोतः अमर उजाला/नागरिक खबर