Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चिनियाँ मुसाले अन्तरिक्षमै गर्‍यो गर्भाधारण, पृथ्वीमा आएर जन्मायो बच्चा

चिनियाँ मुसाले अन्तरिक्षमै गर्‍यो गर्भाधारण, पृथ्वीमा आएर जन्मायो बच्चा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २१, २०८२ सोमवार • ०६:२४:३९ बजे
  • 415
    SHARES
  • चिनियाँ मुसाले अन्तरिक्षमै गर्‍यो गर्भाधारण, पृथ्वीमा आएर जन्मायो बच्चा

    चिनियाँ अन्तरिक्ष स्टेशनमा गएको एउटा पोथी मुसाले अन्तरीक्षमै गर्भाधारण गरी पृथ्वीमा फर्किएपछि ९ वटा स्वस्थ बच्चा जन्माएको छ । यो घटना अन्तरिक्षमा बसोबास गर्ने मानव जातिको सपनालाई यथार्थमा परिणत गर्ने सोचमाथिको महत्वपूर्ण संकेतका रूपम हेरिएको छ ।

    images

    छोटो अवधिको अन्तरिक्ष यात्राले स्तनधारी जीवहरूको प्रजनन क्षमतामा कुनै पनि नकारात्मक असर नपर्ने वैज्ञानिकहरूले दावी गर्दै आएका थिए । यस घटनाले यसअघिको दावीलाई पुन:पुष्टि गरेको वैज्ञानिकहरूको भनाइ छ ।

    अन्तरिक्षमा मुसाको गर्भाधारण कथा

    यो प्रयोग चीनको शेनझोउ २१ मिसनको हिस्सा थियो ।

    गत अक्टोबर ३१ म चीनले शेनझोउ-२१ अन्तरिक्षयानबाट ४ वटा मुसालाई आफ्नो तियाङगोङ्ग स्पेस स्टेशनमा पठाएको थियो ।ती मुसाहरूको नामाकरण संख्यामा गरिएको थियो, जसको नाम ६, ९८, १५४ र १८६ राखिएको थियो ।

    ती मुसाहरू पृथ्वीबाट करीब ४०० किलोमिटर माथि रहेको स्पेस स्टेशनमा दुई हप्ता बसे । त्यहाँ उनीहरूले माइक्रोग्रेभिटी (सुक्ष्म गुरुत्वाकर्षण), अन्तरिक्ष विकिरण तथा अन्तरीक्षका अन्य विभिन्न विषम अनि विशेष खालका स्थितिहरूको सामना गरे ।

    दुई हप्ता अन्तरिक्षमा बिताएर नोभेम्बर १४ मा पृथ्वीमा फर्काइएका ती मुसामध्ये एउटा पोथी मुसाले गत डिसेम्बर १० मा ९ वटा स्वस्थ बच्चा जन्मायो । सो पोथीले अन्तरिक्षमै बस्दा आफूसँगै रहेको भाले मुसासँग संसर्ग गरी गर्भाधारण गरेको थियो ।


    उक्त मुसाले जन्माएका ९ मध्ये मध्ये ६ वटा बच्चा हालसम्म पनि जीवित छन् । उनीहरूलाई मुसाले राम्रोसँग दूध खुवाइरहेको छ, बच्चाहरू सक्रिय छन् र शरीरको राम्रो विकास भइरहेको छ ।

    मुसाको अन्तरिक्ष बसाइका चुनौती

    चीनको उक्त मुसा गर्भाधारण मिसन सजिलो थिएन । शेनझेउ-२० अन्तरिक्षयानको प्रक्षेपणमा केही ढिलाइ हुँदा ती मुसाहरू तय गरिएको समयभन्दा बढी अन्तरिक्षमा बस्नुपरेको थियो । त्यसो हुँदा ती मुसाहरूलाई खानाको अभाव हुने खतरा बढ्यो ।

    त्यसपछि पृथ्वीमा रहेको टिमले बिस्कुट, मकै, नट्स तथा सोया मिल्क लगायतका विभिन्न खानेकुराहरू परीक्षण गर्‍यो ताकि अन्तरिक्षमा रहेका मुसाहरूलाई सुरक्षित रुपमा खुवाउन सकियोस् । उक्त परीक्षणबाट सोया मिल्क मुसालाई दिनका लागि सबैभन्दा सुरक्षित ठानियो ।

    अन्तरिक्षमा मुसालाई राखिएको वासस्थानमा बिहान ७ बजे बत्ती बालिन्थ्यो र बेलुकी ७ बजेर बत्ती निभाएर अँध्यारो बनाइन्थ्यो । यसो गर्दा उनीहरूले पृथ्वीमा जस्तै दिन-रात चक्रको महसुस गर्न पाउँथे ।

    मुसाको खाना पौष्टिक थियो तर कडा थियो, किनकि मुसाको दाँतलाई कडा वस्तु चपाइरहनु आवश्यक हुन्थ्यो । हावाको बहावले रौँ र फोहोरलाई छुट्टै भाँडोमा लगिदिन्थ्यो । साथै एआई प्रणालीबाट मुसाका क्रियाकलाप, खानपान तथा निद्राको निगरानी गरिन्थ्यो ।

    यो प्रयोग किन छ महत्वपूर्ण ?

    मुसा जेनेटिक रूपमा मानिससँग धेरै मिल्दोजुल्दो हुन्छ। यसले छिटै बच्चा पैदा गर्दछ । तनावको अवस्थामा यसले मानिसले जस्तै प्रतिक्रिया दिन्छ ।

    यदि अन्तरिक्षमा गर्भाधारण अर्थात् प्रजननमा कुनै ठूलो समस्या हुन्थ्यो भने त्यो पहिले मुसामै देखिने थियो । चिनियाँ मुसाले सफलतापूर्वक अन्तरिक्षमा भालेसँगको समागमबाट गर्धाधारण गर्‍यो र पृथ्वीमा आएर सामान्य ढंगले बच्चा जन्मायो ।

    अब वैज्ञानिकहरूले अन्तरिक्षमा गर्भाधारण गरेका ती मुसाका बच्चाहरूको निगरानी गर्नेछन् । उनीहरूको वृद्धि विकास तथा प्रजनन क्षमतामा अध्ययन हुनेछ । साथै मातापिताको अन्तरिक्ष बसाइ र अन्तरिक्षमा भएको प्रजननले बच्चा तथा आगामी पुस्तामा कुनै लुप्त असर पो हुन्छ कि भन्ने विषयमा समेत गहन अध्ययन गरिनेछ ।

    वास्तवमा यो प्रयोग सबै मानिसकै भविष्यका लागि गरिएको हो । मंगल ग्रहमा लामो यात्रा वा चन्द्रमामा स्थायी बस्ती बसाउनुअघि यो जान्नु जरुरी हुन्छ कि आखिर कम गुरुत्वाकर्षणमा गर्भ रहने, वृद्धि हुने तथा बच्चा जन्मिने प्रक्रिया सामान्य हुन्छ कि हुँदैन ? अन्तरिक्षका विकिरणहरूले डिम्ब तथा शुक्रकीटलाई कुनै असर पार्दछन् कि पार्दैनन् भन्ने कुरा पनि थाहापाउनु आवश्यक छ ।

    हुनत एउटा मुसाले अन्तरिक्षमा गर्भाधारण गरी आमा बनेको कुराले मात्रै सबै प्रश्नको जवाफ दिँदैन । तर यसले अन्तरिक्षमा मानव प्रजनन पनि सम्भव रहेको कुरामा आशा जगाएको छ । यो मानव जातिको चन्द्रमा तथा अन्य ग्रहमा बसोबास गर्ने सपनाका लागि अहम् कदम मानिएको छ ।

  • सम्बन्धित विषय:

  • # जन्मायो बच्चा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology